• १ जेठ २०८३, शुक्रबार

मन्त्री लम्सालद्वारा नागढुङ्गा–मुग्लिङ सडकको स्थलगत अनुगमन

blog

काठमाडौँ, जेठ १ गते । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गर्नुभएको छ । पछिल्लो समय निर्माण कार्यमा देखिएका व्यवधान र ढिलाइबारे वस्तुस्थितिको जानकारी लिन मन्त्री लम्साल उक्त सडक खण्डको निरीक्षणमा निस्कनु भएको हो ।

पश्चिम एशियामा बढ्दै गएको द्वन्द्वका कारण बिटुमिन तथा अन्य पेट्रोलियम पदार्थको आयातमा समस्या उत्पन्न हुँदा यस सडक खण्डको निर्माण कार्य प्रभावित हुन पुगेको छ । 

इन्धन र बिटुमिनको अभावका कारण नागढुङ्गा–मुग्लिङ मात्र नभई देशभरका विभिन्न सडक आयोजनाहरूको निर्माण कार्य समेत सुस्त वा ठप्प भएको अवस्था छ ।

त्रिभुवन राजपथको नागढुङ्गादेखि पृथ्वी राजमार्गको मुग्लिङसम्मको सडक स्तरोन्नति तीनवटा छुट्टाछुट्टै प्याकेजमा भइरहेको छ । पहिलो नागढुङ्गा–नौबिसे (१२.२६ किलोमिटर), दोस्रो नौबिसे–मलेखु (४३.५४ किलोमिटर) र तेस्रो प्याकेज: मलेखु–मुग्लिङ (३८.८६ किलोमिटर) रहेका छन् ।