• १ जेठ २०८३, शुक्रबार

कास्कीमा प्रहरी प्रमुखकै नेतृत्वमा ‘सरप्राइज चेकिङ’

blog

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीको नेतृत्वमा विशेष ‘सरप्राइज चेकिङ’ हुँदै । तस्बिर : न्युज एजेन्सी नेपाल

कास्की, जेठ १ गते । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–२५, हेमजामा विशेष ‘सरप्राइज चेकिङ’ गरेको छ । सवारी दुर्घटना न्यूनीकरण तथा प्रहरीको कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले जिल्लाका उच्चपदस्थ प्रहरी अधिकारीहरू आफैँ सडकमा उत्रिएर सवारी जाँच गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीको नेतृत्वमा भएको उक्त आकस्मिक चेकिङमा प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत, इलाका प्रहरी कार्यालय डाँडाको नाकाका डीएसपी गुणराज बुढाथोकी र वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराईलगायत जिल्ला मातहतका सम्पूर्ण प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो ।


चेकिङका क्रममा वरिष्ठ प्रहरी अधिकृतहरूले आफैँ सवारी चालक र यात्रुसँग सोधपुछ तथा सवारी साधनको जाँच गरेका थिए । अन्य दर्जाका प्रहरी कर्मचारीलाई सवारी जाँच गर्ने सही तरिका, चालक तथा यात्रुसँग गरिने शिष्ट व्यवहार तथा कार्यकुशलताबारे व्यावहारिक ज्ञान दिन यो अभ्यास प्रभावकारी भएको एसपी नवीन कार्कीले जानकारी दिनुभयो ।

अधिकृतहरूले चेकिङ गरिरहँदा अन्य सुरक्षाकर्मीले त्यसको सूक्ष्म अवलोकन गरेका थिए ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने हेमजा खण्ड पछिल्लो समय ‘भाइरल रोड’ का रूपमा चर्चित छ । यस सडक खण्डमा सवारी साधनको गति तीव्र हुने र दुर्घटनाको जोखिम उच्च रहने भएकाले विशेष चेकिङ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताउनुभयो । सडक सुरक्षा सुनिश्चित गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गराउन प्रहरीले यस्तो सक्रियता देखाएको हो ।