अर्जुन काफ्ले
स्याङ्जा, जेठ १ गते । भीरकोट नगरपालिका–५ र नगरपालिकाको सहकार्यमा महिलाहरूलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको छ । वडा नं. ५ का महिलाहरूलाई दिइएको दुई महिने तालिम सीप विकास, आत्मनिर्भरता र स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको वडा अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।
मौलिक संस्कृतिको संरक्षण र उद्यमशीलता प्रवर्द्धन नै मुख्य उद्देश्य रहेको बताउँदै उहाँले जनजाति र दलित समुदायका महिलाहरूलाई समेटेर तालिम दिइएको उल्लेख गर्नुभयो ।
तालिममा स्वरेक चण्डीकालिका आमा समूहका १६ जना र माथिबारी गडिभञ्ज्याङ आमा समूहका १२ जना गरी कुल २८ जना महिलाको सहभागिता रहेको थियो ।
तालिममा अर्जुन परियार, देवेन्द्र परियार र विक्रम परियारले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षकहरूले बाजा बजाउने आधारभूतदेखि उन्नत अभ्यास, तालमेल र प्रस्तुतीकरणका पक्षमा केन्द्रित रहेर प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
स्वरेक चण्डीकालिका आमा समूहका अध्यक्ष मिना थापाले आफ्नै ठाउँमा बसेर सीप सिक्न पाउँदा उत्साह र आत्मविश्वास बढेको बताउनुभयो । उहाँले सीपलाई सही रूपमा उपयोग गरी आयआर्जन गर्दै आत्मनिर्भर बन्ने लक्ष्य रहेको पनि बताउनुभयो ।
पञ्चेबाजा तालिमका लागि उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत १ लाख ५० हजार र वडा कार्यालयबाट १ लाख ५० हजार गरी कुल तीन लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो ।