• १ जेठ २०८३, शुक्रबार

नौ बिघा सरकारी जग्गा अतिक्रमण

blog

अतिक्रमणमा परेको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्रको जग्गा ।तस्बिर : अनिल पराजुली

हेटौँडा समाचारदाता 

हेटौँडा, जेठ १ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ स्थित सङ्घीय सरकार अन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्रको करिब नौ बिघा सरकारी जग्गा अतिक्रमणमा परेको छ । 

केन्द्रका अनुसार ७१ बिघा १६ कट्ठा १६ धुर क्षेत्रफलमध्ये नौ बिघा सात कट्ठा १२ धुर जग्गा विभिन्न व्यक्ति तथा संस्थाले वर्षौंदेखि अतिक्रमण गरी भोगचलन गर्दै आएका छन् । कार्यालयका सूचना अधिकारी बलराम आचार्यका अनुसार अतिक्रमित जग्गामध्ये हालसम्म करिब नौ कट्ठा जग्गा खाली गराउन सफल भएको छ । उहाँले क्लब, स्वास्थ्य संस्था तथा केही स्थानीयले सरकारी जग्गामा संरचना निर्माण गरी प्रयोग गर्दै आएको बताउनुभयो । 

केन्द्रका अनुसार पिप्ले युवा क्लबले रङ्गशाला निर्माणका लागि कित्ता नम्बर ९६ को आठ बिघा जग्गा प्रयोग गरेको छ भने स्वास्थ्य केन्द्रले १३ कट्ठा १८ धुर जग्गा अतिक्रमण गरेको पाइएको छ ।

त्यसै गरी केही स्थानीयले घर, टहरा, शौचालय, पर्खाल तथा अन्य संरचना निर्माण गरी सरकारी जग्गा अतिक्रमण गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो समय दुई कट्ठा चार धुर जग्गा फिर्ता ल्याइएको छ । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले २०८० जेठ १ गते सरकारी जग्गा अतिक्रमणसम्बन्धी विवरण माग गरेपछि केन्द्रले अतिक्रमित क्षेत्रको विवरण तयार गरी जिल्लामा पठाएको थियो । त्यसपछि नापी कार्यालयको प्राविधिक टोली, जनप्रतिनिधि तथा स्थानीयको उपस्थितिमा नापजाँच गरी सीमाङ्कन गरिएको थियो ।

अतिक्रमित संरचना हटाउन प्रशासनले ३५ दिने सार्वजनिक सूचना जारी गरेपछि केही संरचना हटाइएको कार्यालयले जनाएको छ तर केही स्थानीयले उच्च अदालत पाटन, हेटौँडा इजलासमा मुद्दा दायर गरेपछि प्रक्रिया केही समय रोकिएको थियो । कार्यालयका अनुसार मुद्दा नभएका सात वटा घरटहरा हटाएर करिब छ कट्ठा जग्गा खाली गरिएको छ । खाली गराइएको जग्गामा माछाको आहारका लागि उन्नत घाँस तथा केरा खेती गरिएको जनाइएको छ । उच्च अदालतबाट मुद्दा खारेज भएपछि अतिक्रमित जग्गा खाली गराउने काम पुनः अघि बढाइएको कार्यालयले जनाएको छ ।