• १ जेठ २०८३, शुक्रबार

कपिलवस्तुमा आर्थिक गणना तीव्र, ११ हजारभन्दा बढी तथ्यांक संकलन

blog

कपिलवस्तुका विभिन्न स्थानमा आर्थिक गणना गरिँदै । तस्बिर : नारद कोहार

नारद कोहार
तौलिहवा (कपिलवस्तु), जेठ १ गते ।
कपिलवस्तुमा राष्ट्रिय आर्थिक गणना २०८३ अन्तर्गत जिल्लाभर आर्थिक गतिविधिसँग सम्बन्धित तथ्यांक संकलन कार्य तीव्र रूपमा अघि बढाइएको छ ।

जिल्ला आर्थिक गणना कार्यालय कपिलवस्तुका आर्थिक गणना अधिकारी मनोहर हरिजनका अनुसार वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन हुने गणनाअन्तर्गत उद्योग, प्रतिष्ठान, पसल, कृषि, वन तथा माछापालन क्षेत्रका दर्ता भएका संस्था तथा खानी र उत्खनन, औद्योगिक उत्पादनलगायत १८ औद्योगिक समूहको तथ्यांक संकलन भइरहेको छ ।

वैशाख २ देखि ३१ गतेसम्म जिल्लामा ११ हजार ४ सय ५ प्रतिष्ठानको कागजी माध्यमबाट तथा ४० प्रतिष्ठानको ई–सेन्स प्रणालीमार्फत तथ्यांक संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

गणना कार्यका लागि जिल्लामा ८ जना सुपरिवेक्षक र ६३ जना गणक गरी कुल ७१ जना कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ । स्थानीय तहअनुसार कपिलवस्तु नगरपालिका मा ८ जना, महाराजगञ्ज नगरपालिकामा ४ जना, वाणगंगा नगरपालिकामा ११ जना, शिवराज नगरपालिकामा १२ जना, कृष्णनगर नगरपालिकामा ७ जना, बुद्धभूमि नगरपालिकामा ८ जना, यशोधरा गाउँपालिका मा २ जना, मायादेवी गाउँपालिका मा ५ जना, शुद्धोधन गाउँपालिकामा ३ जना र विजयनगर गाउँपालिकामा ३ जना गणक खटाइएको जनाइएको छ ।

कार्यालयले हालसम्म तथ्यांक उपलब्ध गराउने व्यवसायी तथा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै बाँकी रहेका व्यवसाय तथा प्रतिष्ठानलाई सत्य र पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

आर्थिक गणना अधिकारी हरिजनका अनुसार संकलित तथ्यांक तथ्यांकीय प्रयोजनका लागि मात्र प्रयोग गरिनेछ र तथ्यांक ऐन २०७९ को दफा १० अनुसार पूर्ण रूपमा गोप्य राखिनेछ । जिल्लामा यसअघि २०७५ सालमा १३ हजार ६ सय ७ प्रतिष्ठानको गणना गरिएको थियो ।