• १ जेठ २०८३, शुक्रबार

सुपादेउरालीमा तीर्थालुको भिड

blog

गणेश खनाल

अर्घाखाँची,  जेठ १ गते । धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित सुपादेउराली मन्दिरमा दर्शन तथा घुमफिरका लागि आउने तीर्थालुको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । मन्दिरमा बिहानदेखि साँझसम्म भक्तजनको घुइँचो लाग्ने गरेको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार वैशाखमा मात्रै दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।

नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् । नेपालका प्रमुख एक सय पर्यटकीय गन्तव्यमध्ये सुपादेउराली मन्दिर पनि हो । 

मन्दिर व्यवस्थापन समिति सदस्य चुराबहादुर केसीका अनुसार नयाँ वर्षको दिन मात्रै झन्डै ५० हजार भक्तजनले मन्दिर दर्शन गरेका थिए । उहाँले दर्शनार्थीको भिड निरन्तर बढिरहेको बताउँदै यस वर्ष भाकल तथा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या अझ बढ्ने दाबी गर्नुभयो । “मङ्गलबार मात्रै करिब २५ हजार भक्तजन मन्दिर आएका थिए,” केसीले भन्नुभयो, “५० हजार भक्तजनबाट दुई लाख १० हजार र २५ हजार भक्तजनबाट एक लाख रुपियाँ भेटी सङ्कलन भएको छ ।” एक दिनमा एक हजार देखि ५० हजारसम्म दर्शनार्र्थी आउने गरेका छन् । 

सुपादेउराली मन्दिर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । यही विश्वासका कारण प्रत्येक वर्ष मन्दिरको महिमा र आकर्षण बढ्दै गएको स्थानीयवासी बताउँछन् । दर्शनका लागि अधिकांश परिवार गाडी रिजर्भ गरेर आउने गरेका छन् । सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले मन्दिर क्षेत्रको पर्यटन प्रवर्धनका लागि नरपानी–सुपादेउराली क्षेत्रमा धर्मशाला, पर्यटकीय पूर्वाधार तथा अन्य संरचना निर्माणका थप योजना अघि बढाइने जानकारी दिनुभयो ।

तराई तथा भारतका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढिरहेका बेला चिसो मौसम, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण पहाडी क्षेत्रमा आउने पर्यटकको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । सन्धिखर्क नगरपालिका–६, नरपानी क्षेत्रमा आएका पर्यटकलाई सहज र सस्तो बसोबास उपलब्ध गराउन १२ वटा होमस्टे सञ्चालनमा रहेका छन् । झापाबाट दर्शनका लागि आएका विनोद सिग्देलले सुपादेउराली मन्दिर दर्शनपछि सुख, शान्ति र कार्यसफलता प्राप्त हुने विश्वासले आफू यहाँ आएको बताउनुभयो ।

“साथीको सल्लाह र समाचारमा मन्दिरबारे पढेपछि यहाँ आएको हुँ,” उहाँले भन्नुभयो, “धार्मिक यात्रासँगै रमाइलो घुमफिर पनि भयो । यहाँ आएर दर्शन गर्दा, अग्ला पहाड अवलोकन गर्दा र प्राकृतिक वातावरणमा घुम्दा मन निकै शान्त र आनन्दित भयो ।”