काठमाडौँ, वैशाख २९ गते । सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आर्थिक सुधार र वृद्धि, सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको प्रस्ट अवधारणासहितको नीति सार्वजनिक गरेको छ ।
अर्थतन्त्रका विज्ञ एवं जेनजी अभियन्ताले सरकारको नीति तथा कार्यक्रममा सुधारको महìवपूर्ण कार्यक्रम समेटिएकाले कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर एवं अर्थविद् डा. चिरञ्जीवी नेपाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थविद् डा. गोविन्दराज पोखरेलले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनले यसको मापन हुने प्रस्ट पार्नुभयो । त्यसै गरी जेनजी आन्दोलनका घाइते लीजा अधिकारी र जेनजी अभियन्ता एवं इन्जिनियरिङका विद्यार्थी प्रवीणकुमार यादवले सरकारको नीति तथा कार्यक्रम समयानुकूल आएको बताउनुभयो ।
पूर्वगभर्नर डा. नेपालले पहिलेका सरकारले पनि नीति तथा कार्यक्रम राम्रै ल्याए पनि कार्यान्वयन कहिल्यै नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम अनुसार बजेटमा पनि रूपान्तरित भएन, बजेटपछि पनि रूपान्तरित नहुँदा नीति तथा कार्यक्रम कहिल्यै सफल हुन सकेन । वर्तमान सरकारको नीति तथा कार्यक्रम राम्रो छ । अहिले झन्डै दुईतिहाइको सरकार छ । नीति तथा कार्यक्रम १०० बुँदामा वाचापत्र अनुसार आएको छ । सोही अनुसार ती सबै कुरा सम्बोधन गर्दै र अहिलेको स्थितिलाई पनि सम्बोधन गर्ने प्रयास देखिन्छ ।”
पूर्वउपाध्यक्ष डा. पोखरेलले पूर्वतयारी नभएका योजनामा बजेट नराख्ने सरकारको घोषणा राम्रो रहेको बताउनुभयो । उहाँले सम्पन्न नभएका उत्पादनशील परियोजना आयोजनाचाहिँ चाँडो सम्पन्न गर्ने र अब कार्यान्वयनमा जाने आयोजना, परियोजनामा संलग्न कर्मचारी जनशक्तिलाई सरुवा नगर्ने, नचलाउने कार्यसम्पादनको सम्झौता गर्ने भन्ने सुशासनको पक्ष समेट्नुलाई सकारात्मक भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रममा अलिकति डिजिटलको कुरा, ग्रिन हाइड्रोजनसहित वातावरणीय पक्षलाई अलि बढी प्रोत्साहित गरिएको छ । राष्ट्रिय स्वास्थ्य उन्नयन जस्ता केही संस्थाको सिर्जना र अन्य संस्था खारेज गर्दै वा कम गर्ने भनिएको छ । विगतका नीति तथा कार्यक्रमलाई केही भाषागत परिवर्तन र केही एक/दुई वटा अहिलेको बजारले मागेका विषय थपिएको छ ।”
जेनजी पुस्ता उत्साहित
जेनजी आन्दोलनका घाइते अधिकारी र जेनजी अभियन्ता यादवले सरकारको नीति तथा कार्यक्रमले अर्थतन्त्रमा सुधारसँगै सुशासन परिकल्पना गरेकाले उत्साह भर्न सक्ने बताउनुभयो । अभियन्ता अधिकारीले नीति तथा कार्यक्रमको ‘नयाँ चरणको आर्थिक सुधार शृङ्खला’ अन्तर्गत बृहत् कानुनी र संस्थागत सुधार गरिने विषय सकारात्मक रहेको बताउनुभयो । उहाँले बजेटमा जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई आर्थिकोपार्जन गर्न सकिने आधार तयार गर्न आग्रह गर्नुभयो ।
अभियन्ता यादवले सरकारको आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने र नगदरहित, पारदर्शी र राजस्व चुहावटमुक्त अर्थतन्त्र बनाउने प्रस्तावले समग्र रूपान्तरण सम्भव हुने बताउनुभयो । उहाँले करका संरचना पुनरवलोकन गर्ने र उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने प्रस्तावले युवालाई उद्यममा लाग्न प्रेरित गर्ने बताउनुभयो ।
अर्थतन्त्र सुधारका पक्ष सकारात्मक
अर्थविद्द्वय डा. नेपाल र पोखरेलले अर्थतन्त्र सुधारका सन्दर्भमा नीति तथा कार्यक्रम सकारात्मक रहेको बताउनुभयो । डा. नेपालले कानुनतः बाधक रहेको पक्षलाई सुधारेर अर्थतन्त्र बलियो बनाउने भन्ने पक्ष सकारात्मक रहेको बताउनुभयो । उहाँले उच्च आर्थिक वृद्धि, लगानीको गन्तव्य स्थल विकास गर्ने विषय कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा समेटिएका विषय बजेट आउँदाखेरि छरेर आउने विगतलाई सुधार्न र आवश्यकताका आधारमा सम्बोधन गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रमले आधारै तोकेको हुनाले सूचना प्रविधि, पर्यटन, जलस्रोत, पूर्वाधार, कृषिसहितका क्षेत्रलाई आर्थिक दृष्टिकोण, आर्थिक अर्थतन्त्र र आर्थिक वृद्धिका संवाहकका रूपमा प्रस्ट रूपमा तोकेको छ ।”