गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २९ गते । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि प्रारम्भ भएको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो । आह्वान अनुसार दुवै सदनको अधिवेशन बैठक प्रारम्भ भएको छ ।
अधिवेशन प्रारम्भमा राष्ट्रपति कार्यालयको पत्र वाचन गरेर सुनाइएको थियो । यस्तै संसद् अधिवेशन नभएका बेला जारी अध्यादेश पेस गरिएको थियो । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश पेस गर्नुभयो । यस्तै केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश पनि मन्त्री गौतमले प्रतिनिधि सभामा पेस गर्नुभयो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश प्रतिनिधि सभामा पेस गर्नुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश सभामा पेस गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश सभामा पेस गर्नुभयो ।
यस्तै प्रतिनिधि सभा नियमावली मसौदा समितिको प्रतिवेदन पनि सभामा पेस भएको छ । समितिका सभापति गणेश पराजुलीले मसौदा प्रतिवेदन पेस गर्नुभएको हो । सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न अध्यक्षमण्डलको मनोनयन पनि प्रतिनिधि सभाले गरेको छ ।