• २९ वैशाख २०८३, मङ्गलबार

रेमिट्यान्स उनन्चालिस प्रतिशतले वृद्धि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २९ गते । नेपालमा रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा १६ खर्ब ५९ अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भएको हो ।

राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको आव २०८२/८३ को नौ महिना (२०८२ चैतसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेको थियो । 

गत चैतमा यस्तो रेमिट्यान्स आप्रवाह दुई खर्ब नौ अर्ब ७५ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह एक खर्ब ३९ अर्ब ५४ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब तीन अर्ब १२ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ९४ हजार १८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ९३ हजार २५९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या व्रmमशः तीन लाख ५८ हजार २२२ र दुई लाख ४९ हजार ६५२ रहेको थियो ।

गत चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत र आव २०८२/८३ को नौ महिनाको औसत उपभोक्ता मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २३ अर्ब ५५ करोड पुगेको छ । यस्तो सञ्चिति १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

चालु खाता छ खर्ब १८ अर्ब ६८ करोड र शोधनान्तर सात खर्ब ३१ अर्ब १६ करोड बचतमा रहेको छ । यस्तै निर्यात १८.५ प्रतिशतले र आयात १३.८ प्रतिशतले बढेको छ ।

नेपाल सरकारको खर्च १० खर्ब ५९ अर्ब ९५ करोड र राजस्व परिचालन आठ खर्ब ८६ अर्ब २८ करोड रहेको छ । समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.५ प्रतिशतले बढेको छ ।

बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन ८.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.९ प्रतिशत रहेको छ ।

बैङ्क तथा वित्तीय संस्थाबिचको भारित औसत अन्तरबैङ्कदर २.७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६१ प्रतिशत रहेको छ । वाणिज्य बैङ्कको निक्षेपको भारित औसत ब्याजदर ३.४० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.७७ प्रतिशत छ ।