• २९ वैशाख २०८३, मङ्गलबार

मुसिकोटमा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

blog

मुसिकोट नगरपालिका–४ को ग्वादिकाचौरमा सञ्चालन भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्डको शुभारम्भ । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख २९ गते ।
मुसिकोट नगरपालिका–४ कुर्घाको ग्वादिकाचौर खेल मैदानमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । प्रतियोगिताको मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेलले उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले जिल्ला स्तरीय प्रतियोगीता मुसिकोटमा गर्ने अवसर प्रदान गर्ने खेलकुद विकास समिति गुल्मीप्रति आभार प्रकट गर्नुभयो । उहाँले ग्वादीकाचौर खेलकुद मैदानमा नगरका महत्वपूर्ण दुई प्रतियोगीतासहित जिल्लाको सवैभन्दा ठुलो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सञ्चालन हुँदा छुट्दै किसिमको उत्सव भइरहेको बताउनुभयो । आफुहरुले खेलाडीहरुको व्यवस्थापनमा कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति गुल्मीको आयोजनामा प्रतियोगिता वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगीतामा जिल्लाका १२ वटै स्थानीय तहका खेलाडी खेलमा सहभागी भएको खेलकुद परिषद्, लुम्बिनीका सदस्य महेश काउछाले जानकारी दिनुभयो । चिदिचौर खेलमैदान निर्माणको चरणमा रहेकाले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड पछिल्लो तम्घास बाहिर आयोजना गरिएको छ । १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड रुरुक्षेत्र गाउँपालिकाको घिउवेँसी खेल मैदानमा सम्पन्न भएको थियो ।

यस अघिको चार वटा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता मुसिकोट नगरपालिकाले जितेको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा छात्रछात्राबिच भलिवल, कवर्दी, हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, सटफुट, ज्यावलिङ् थ्रो, मार्सल आर्ट, दौड, तेक्वान्दो, कराँते लगायतका खेलहरु सञ्चालन हुने जिल्ला भलिवल संघका महासचिव नारायण आचार्यले जानकारी दिनुसभयो ।

वैशाख २५ देखि २७ गतेसम्म सञ्चालन भएको मुसिकोट नगरस्तरिय आठौं राष्ट्रपति रनिङशिल्ड त्रिभुवन मावि मुसिकोट नगरपालिका ४ले जितेको छ । त्रिभुवन माविले २३ स्वर्ण, २० रजत र १० कास्य गरेर ५३ पदकसहित प्रथम भएको छ । त्यस्तै २१ संवरण, १३ रजत र पाँच कास्य गरेर ३९ पदकसहित महेन्द्र आदर्श मावी द्व तिय भएको मुसिकोट नगरपालिकाले जनाएको छ।

पाँच स्वर्ण, चार रजत र तीन कास्य गरेर १२ पदकसहित पृथ्वी मावि तृतीय भएको छ । प्रतियोगितामा नगरभित्रका १६ विद्यालय सहभागी थिए । उत्कृष्ट विद्यालयलाई आगामी जेठ २ गते मुसिकोट खेलकुद महामेला समापनको अवसरमा पुरस्कार प्रदान गरिने छ । ग्वादिकाचौर खेल मैदानमा तीन प्रतियोगीतामा तीन हजार खेलाडी भिड्ने छन् ।

मुसिकोटले नगरका दुई र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड गरेर तीन खेलकुद प्रतियोगिताको संयोजन ग्वादिकाचौरमा गरेको छ । जसलाई मुसिकोट खेलकुद महामेला भनिएको छ । महामेला वैशाख २५ देखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै महामेला भित्र वैशाख ३१ देखि जेठ २ गतेसम्म तेस्रो मुसिकोट मेयर रनिङ कप आयोजना गरिएको छ ।

जसमा दुई लाख एक हजार रुपियाँ पुरस्कारको जिल्लाका पालिका स्तरीय भलिबल प्रतियोगीता रहेको छ । उपबिजेताले एक लाख ३५ हजार, तृतीयले ४० र सान्त्वना हुनेले २६ हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मुसिकोट नगरपालिकाले जनाएको छ । मेयरकपमै महिला कबड्डी प्रतियोगिताको आयोजना गरिएको छ ।

यो प्रतियोगीताको बिजेताले ३५ हजार र उपविजेताले २० हजार रुपियाँ प्राप्त गर्नेछन् । ब्याटमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको छ । बिजेताले २० हजार र उपबिजेताले १३ हजार ५०० रुपियाँ पाउने मुसिकोटमा नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप क्षेत्रीले जानकारी दिनुभयो । उहाँले तीन वटा खेलमा तीन हजार खेलाडी ग्वादिकाचौरमा भिड्ने बताउनुभयो ।