• २९ वैशाख २०८३, मङ्गलबार

शीतभण्डार सञ्चालनमा नआउँदा किसान निराश

blog

कमलामाई नगरपालिका–४, दोभानटारमा निर्माण भएको जुनार शीतभण्डारको भवन । तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, वैशाख २९ गते  । सिन्धुलीका विभिन्न स्थानमा निर्माण गरिएका शीतभण्डार प्रयोगमा नआई बेवारिसे बन्न पुगेका छन् । बागमती प्रदेश सरकार तथा अन्य दातृ निकायबाट सहयोगमा निर्माण गरिएका शीतभण्डार उपकरण, प्राविधिक ज्ञान, व्यवस्थापनको अभाव र ठेकेदारले हस्तान्तरण नगर्दा प्रयोगमा नआई बेवारिसे बन्न पुगेको स्थानीय बताउँछन् । फिक्कल गाउँपालिका–१, दमार; सुनकोशी गाउँपालिका–१, रामटार; कमलामाई नगरपालिका–४, दोभानटार र गोलन्जोर गाउँपालिका–६, नाकाझोलीमा निर्माण गरिएका शीतभण्डार बर्सौंदेखि प्रयोगमा आउन सकेका छैनन् । 

मौसमी तरकारी तथा फलफूल भण्डारण गरी बेमौसममा उपभोक्तामाझ पु¥याउने उद्देश्यले शीतभण्डार निर्माण गरिएको हो । फिक्कल गाउँपालिका–१ का वडाध्यक्ष होमबहादुर सुनुवार वडाको दमारमा बागमती प्रदेश सरकार र गाउँपालिकाको सात करोड रुपियाँभन्दा बढी लागतमा निर्माण गरिएको १७८ मेट्रिक टन क्षमताको शीतभण्डार एक वर्षदेखि प्रयोगमा नआएको बताउनुहुन्छ । भण्डारण गर्ने सामग्रीको अभावमा शीतभण्डार प्रयोगमा नआएको उहाँले बताउनुभयो । वडाध्यक्ष सुनुवारले भन्नुभयो, “आलु र किवी खेतीलाई लक्षित गरी चार वर्ष लगाएर शीतभण्डार निर्माण भयो । अहिले प्रयोगमा आउन सकेको छैन ।” 

गाउँपालिकाले दमारलाई आलु र किवी खेतीको पकेट क्षेत्र घोषणा गरेको छ । शीतभण्डार प्रयोगमा नआए पनि विद्युत् महसुल एक लाख रुपियाँभन्दा बढी तिरेको गाउँपालिकाले जनाएको छ । सुनकोशी गाउँपालिका–५, रामटारमा शीतभण्डार निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन । बागमती प्रदेश सरकार र पालिकाको पाँच करोड रुपियाँभन्दा बढी लगानीमा निर्माण गरिएको पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार ठेकेदारले हस्तान्तरण नगर्दा सञ्चालनमा आउन नसकेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष कपिलकुमार कोइराला शीतभण्डार निर्माण पूरा गरेको तीन वर्षभन्दा बढी हुन लाग्दा पनि ठेकेदारले नबुझाएको बताउनुहुन्छ । पालिकाले एक जना कृषि प्राविधिकलाई तालिम दिएर शीतभण्डार सञ्चालन गर्ने तयारी गरे पनि ठेकेदारले नबुझाएकै कारण सञ्चालनमा ल्याउन नसकेको उहाँको गुनासो छ ।

कमलामाई नगरपालिका–४, दोभानटारमा निर्माण गरिएको शीतभण्डारको व्यथा पनि उस्तै छ । एक करोड रुपियाँभन्दा बढी लागतमा निर्माण गरिएको ३६० मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालनमा नआउँदा किसान र उपभोक्ता दुवै निराश छन् । १० वर्षअघि निर्माण भएको भवनमा दुई सिजन जुनार तथा आलु भण्डारण गरिएको थियो । त्यसपछि खर्च धान्नै नसकेर प्रयोगमा आउन नसकेको सञ्चालकको भनाइ छ ।

जुनारको पकेट क्षेत्र नाकाझोलीमा निर्माण गरिएको शून्यशक्ति शीतभण्डार (सेलार स्टोर) प्रयोगमा ल्याउन प्राविधिक समस्या रहेको सञ्चालक तथा स्थानीय जुनार किसान शेरबहादुर मगरले जानकारी दिनुभयो । उहाँका अनुसार सिजनमै जुनार बगैँचाबाट राम्रो मूल्यमा बिव्रmी हुन थालेको थियो । २०६८ सालतिर उच्चस्तरीय प्रविधिको २४ मेट्रिक टन क्षमताको उक्त शीतभण्डार निर्माण भएको हो । त्यस क्षेत्रमा उत्पादित जुनारलाई भण्डारण तथा व्यवस्थापनका लागि सार्क डेभलपमेन्ट फन्ड र नेप्लिज फार्मिङ इन्स्टिच्युटको आर्थिक तथा प्राविधिक सहयोगमा सेलार स्टोर निर्माण भएको थियो । “निर्माण पूरा भएपछि २०७० सालतिर एक साल जुनार भण्डारण ग¥यौँ,” मगरले भन्नुभयो, “भण्डारण गरेको जुनारमध्ये प्राविधिक ज्ञानको कमीले १० प्रतिशत जति कुहियो । त्यसपछि जुनारले सिजनमा नै राम्रो मूल्य पाउन थालेपछि भण्डारण गर्न किसानले नै चासो दिन छाडे ।”