• २९ वैशाख २०८३, मङ्गलबार

सप्तरीमा मेलामा अभद्र व्यवहार गर्ने एक जना पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय सप्तरी।

धीरेन्द्रप्रसाद साह
राजविराज, वैशाख २९ गते । 
सप्तरीको शम्भूनाथ नगरपालिका ३ स्थित शम्भुनाथ सिरुवा रमाइलो मेलामा अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

यसरी पक्राउ पर्नेमा शम्भूनाथ नगरपालिका–२ निवासी ३२ वर्षीय अनिल साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।

उहाँका अनुसार वैशाख २६ गते राति करिब १०ः०५ बजे शम्भूनाथ नगरपालिका–३ स्थित शम्भूनाथ बाबा मन्दिर परिसरमा सञ्चालन भइरहेको सिरुवा रमाइलो मेलामा साहले मादक पदार्थ सेवन गरी मेलामा आएका व्यक्तिहरूसँग अश्लील शब्द प्रयोग गर्दै धकेलाधकेल गरेको आरोप छ।

स्थितिलाई नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि समेत उनले गालीगलौज तथा हातपात गरेको उहाँले जनाउनुभयो । त्यसपछि उहाँलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको हो।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट पाँच दिनको म्याद थप गरी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रनाउ पुरीले जानकारी दिनुभयो ।