• २९ वैशाख २०८३, मङ्गलबार

मकवानपुरमा विद्युतीय गाडी दुर्घटना, १० जना घाइते

blog

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ लामबगरस्थित सडकखण्डमा दुर्घटनाग्रस्त विद्युतीय गाडी । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, वैशाख २९ गते ।
सिस्नेरी–दक्षिणकाली–काठमाडौँसडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ लामबगरस्थित सडकमा विद्युतीय गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको विद्युतीय गाडी गएराति ११ः१० बजे ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीका अनुसार चालकसहित ११ जना सवार रहेको उक्त गाडी सडकको दायाँतर्फको भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

गाडीमा नौ जना भारतीय नागरिक र दुई जना नेपाली नागरिक सवार रहेका थिए । चालकसहित दुई जना नेपालीलाई केही नभएको र एक जना घर गइसकेको प्रहरीले जनाएको छ । गाडी चालक धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–४ का ३० वर्षीय पिन्टु सिंह प्रहरी नियन्त्रणमा रहनुभएको छ ।

दुर्घटनामा घाइते हुनेमा भारत बिहार राज्य दरभङ्गाका ६० वर्षीय राम विनय झा, ७० वर्षीया निर्मला देवी, ५५ वर्षीया अनिता देवी, ५६ वर्षीया प्रज्ञा देवी, ५२ वर्षीया रुद्रकुमारी झा, ६७ वर्षीय हम्रानाथ झा, ७४ वर्षीय छत्रधर चौधरी, ६६ वर्षीय अमरनाथ झा, ४२ वर्षीया अनिता झा र धनुषा लक्ष्मीनिया–४ का २२ वर्षीय असान साफी रहनुभएको छ ।

घाइतेमध्ये असान साफी उपचारपछि घर फर्किएको र अन्य भारतीय नागरिकको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।