• २९ वैशाख २०८३, मङ्गलबार

तलब माग्दै चिकित्सक आन्दोलित

blog

प्रादेशिक अस्पताल जलेश्वरमा आन्दोलनरत चिकित्सक तथा कर्मचारी । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण 

महोत्तरी, वैशाख २९ गते । महोत्तरीको जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा कार्यरत अस्थायी र करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले तलब भत्ता माग गर्दै आन्दोलन गरेका छन् । प्रादेशिक अस्पताल जलेश्वरका अस्थायी र करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूहरूले तीन महिनादेखि तलब तथा लुगा भत्ता उपलब्ध नगराएपछि आन्दोलन गर्न बाध्य हुनु परेको बताएका छन् । 

प्रादेशिक अस्पताल जलेश्वरका कन्सल्टेन्ट जनरल सर्जन डा. राजीव अधिकारीले तीन महिनादेखि अस्पताल प्रशासनले आफूहरूलाई तलब भत्ता नदिएको बताउँदै बढ्दै गएको महँगी तथा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले सवारीबाट आवतजावत गर्न र जीविका चलाउन समस्या भइरहेकाले आफूहरू आन्दोलित हुनु परेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “बिरामीसँग हेलचेक्रयाइँ गर्न खोजेका छैनौँ, पटक पटक हामीले आफ्नो तलब भत्ता माग गर्दै आएका छौँ तर अहिलेसम्म तलब नपाउँदा घर चलाउनसमेत समस्या भइरहेकाले आफूहरू बाध्य भएर आन्दोलित हुनु परेको छ ।” 

प्रादेशिक अस्पताल जलेश्वरमा अस्थायी र करारका चिकित्सक तथा कर्मचारी अस्पतालमा उपस्थित भएर हाजिर गरी आन्दोलनमा बस्ने गरेका छन् । प्रादेशिक अस्पतालमा रहेका आधा दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सक, चिकित्सक तथा करिब तीन दर्जनभन्दा बढी पारामेडिक्स, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको आन्दोलनले बिरामीको जाँचमा समस्या भएको छ । अस्पताल प्रशासनले एक सय शय्याको अस्पतालमा अस्थायी दरबन्दीमा रहेका २२ र ५० शय्याको अस्पतालका लागि अस्थायी दरबन्दीमा रहेका २५ गरी जम्मा ४७ जना विशेषज्ञ चिकित्सक, चिकित्सक तथा स्वास्थ्य कर्मचारी आन्दोलनमा रहेको जनाएको छ । 

प्रादेशिक अस्पताल जलेश्वरका अर्थोपेडिक सर्जन डा. सुनीलकुमार साहले इमर्जेन्सीबाहेक अस्पतालका सम्पूर्ण शाखामा सेवा दिन असमर्थ रहेको जानकारी दिँदै तत्काल तलब भुक्तानीका लागि पहल गरिदिन सम्पूर्ण सरोकारवाला निकायलाई अनुरोध गर्नुभएको छ । 

प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा. रवि श्रीवास्तवले आफूले पटक पटक प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई तलब भत्ताको अपुग रकमको विषयमा मन्त्रालयलाई पत्राचार गरी जानकारी गराए पनि समस्या समाधान नभएको बताउनुभयो । 

विशेषज्ञ चिकित्सक, चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि उपचारका लागि अस्पताल आउने बिरामी उपचार नगरी घर फर्किनु परेको छ । अस्पतालमा उपचारका लागि आउने बिरामी मर्कामा परेका छन् । सोमबार दाँतको थप उपचार गराउन प्रादेशिक अस्पताल जलेश्वर पुगेका जलेश्वर नगरपालिका–४ का मुस्कान खातुनले आन्दोलनका कारण आफू उपचार गराउनबाट वञ्चित हुनु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिदाका कारण दुई दिन अस्पताल बन्द थियो ।” उहाँले सोमबार दाँतको थप उपचारका लागि अस्पताल पुग्दा आन्दोलनका कारण चिकित्सकले उपचार नगरिदिएपछि आफू मर्कामा परेको बताउनुभयो ।