खलङ्गा समाचारदाता
खलङ्गा (दार्चुला), वैशाख २९ गते । सडक सञ्जालको पहुँचबाट टाढा रहेका दार्चुलावासीले त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महìवको दार्चुला–तिङ्कर सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन् । खास गरेर सीमावर्ती व्यास गाउँपालिकाका नागरिकले सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गरेर निर्माणलाई पूर्णता दिनुपर्ने माग गरेका हुन् । सडक निर्माण सुरु गरिएको १८ वर्ष बितिसक्दा पनि बजेट अभावकै कारण निर्माण कार्यले गति लिन सकेको छैन ।
ब्यास–२, दुम्लिङका पूर्णिमा बुढाथोकीले सरकारले सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गरेर सीमाका नागरिकलाई सडक सञ्जालको पहुँचमा जोड्नुपर्ने बताउनुभयो । सडक नहुँदा नागरिकले खाद्यान्नलगायतका सामग्री चर्को मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
नेपालबाट सहज सडक मार्ग नभएका कारण दैनिक उपभोग्य वस्तु र आवश्यक सामान किनमेल गर्न भारतकै भर पर्नुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो । भारतले कालापानी, लिपुलेकसम्म सडक विस्तार गरिसकेको छ भने नेपालतर्फ दुम्लिङ गाउँमा हालै नेपाली सेनाले गाडी पु¥याएको छ ।
यो सडक नबन्दा यहाँको छाङ्रु र तिङ्करलगायत ठाउँ बसोबास गर्ने सौका समुदायका मानिसलाई भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहोरा दार्चुला–तिङ्कर सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताउनुहुन्छ । व्यास–६, हुतीका स्थानीय दीपक खातीले बजेट अभावका कारण सामरिक महत्व बोकेको रणनीतिक सडक निर्माण कार्यले गति लिन नसकेको बताउनुहुन्छ ।
उहाँका अनुसार बजेट अभावकै कारण छाङरुदेखि निर्माण भइरहेको सडक निर्माणको काम बन्द छ । नेपालबाट तिङ्कर नाकासम्म गाडी पु¥याउन अझै ६७ किलोमिटर सडक निर्माण गर्न बाँकी छ । कडा चट्टानी भूभाग र प्रत्येक वर्ष दार्चुला–तिङ्कर सडकलाई बजेटमा उपेक्षा गरिँदा सडक निर्माण निकै सुस्त गतिमा भइरहेको छ ।
सडक नहुँदा सदरमुकामलगायत अन्य ठाउँ जान तुइनमा झुन्डिनुपर्ने बाध्यता रहेको छ । तुइनबाट खसेर हालसम्म सयौँ मानिसले मृत्युवरण गर्नु परेको दुम्लिङकै अर्का स्थानीय द्रोपती जोहारीले पीडा पोख्नुभयो । उहाँले भन्नुभयो, “आफ्ना नागरिकको रक्षा र स्वाभिमानका लागि भए पनि यो सरकारले सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गर्नु पर्छ ।” यहाँका स्थानीयले दुम्लिङसम्मको सडकमा वर्षभरि नै गाडी चल्ने गरी निर्माण गर्न आग्रह गरेका छन् । दार्चुला–तिङ्कर सडक निर्माणमा कठिनाइ भएपछि तत्कालीन सरकारले आव २०७७/७८ देखि नेपाली सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो ।
नेपाली सेनाले व्यास गाउँपालिका–३, तुषारपानीदेखि तिङ्करसम्मको ७९ किलोमिटर सडक निर्माण गरिरहेको छ । यो निर्माण आव ०८७/८८ सम्ममा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
आव ०७७/७८ देखि सडक निर्माणको काम गरिरहेको नेपाली सेनाले हालसम्म २२.१५ प्रतिशत सडकको ट्याक खोलेको छ, भने १२ किलोमिटर सडकमा गाडी गुडाएको छ । सडकको शून्य विन्दु तुषारपानीदेखि दुम्लिङसम्मको १२ किलोमिटर सडकमा गाडी सञ्चालन भएको छ । सेनाले हालसम्म तीन अर्ब ७४ करोड रुपियाँ खर्च भएको जनाएको छ ।