• २९ वैशाख २०८३, मङ्गलबार

बढ्दै मकैको उत्पादन, पानीले बाली भित्र्याउन समस्या

blog

उर्लाबारी समाचारदाता 

उर्लाबारी, वैशाख २९ गते । मध्य वैशाखदेखि लगातार परेको वर्षाले गर्दा मोरङका किसानलाई मकै बाली भित्र्याउन समस्या भएको छ । 

दक्षिणी मोरङका रतुवामाई, सुनबर्सी र रङ्गेली नगरपालिकासँगै कानेपोखरी, धनपालथान, जहदा र कटहरी गाउँपालिकामा मकैको सघन खेती हुने गरेको छ । बिउ, मल र सिँचाइको सन्तुलन मिलाउँदा प्रतिबिघा २५० मनसम्म मकै उत्पादन हुन थालेपछि किसानले गहुँ खेती हटाएर मकै खेती गर्न थालेका छन् । रङ्गेली–४ चोप्राहाका शिवु मण्डलले भन्नुभयो, “बिघामा अढाई सय मनसम्म उत्पादन हुन्छ तर हरेक वर्ष पानीले दुःख दिन्छ । थ्रेसिङ गरेपछि सुकाउने ठाउँ छैन । 

कालोपत्रे सडकमा सुकाउनुपर्ने बाध्यता छ तर सडकमा पनि सबैले सुकाएपछि आलोपालो गर्नु पर्छ । मण्डलले उत्पादन भएको खाद्यबालीको सुरक्षा गर्ने क्षमता किसानसँग छैन । रङ्गेली चोप्राहा सडकमा मकै थे्रसिङ गरिरहनुभएका मण्डलले एक बिघाको २२० मन मकै सडकमै सुकाउने बताउनुभयो । 

सुनबर्सी–६ बालुबारीका उमेश साहले भन्नुभयो, “मकै सुकाएपछि एकैछिनमा पानी पर्छ । त्रिपालसहित आकाश हेरेर बस्नुभएका साहले मकै सुकाउने ड्रायर मेसिन नहुँदा किसानको उत्पादन कुहिएर नास हुने गरेको बताउनुभयो । गत वर्ष प्रतिक्विन्टल तीन हजार चार सयमा बिक्री भएको यस वर्ष तीन हजारमा बिक्री भइरहेको छ । रङ्गेली–७ का अर्का किसान अमोल यादवले यस वर्ष जोताई खर्च, मल, बिउको मूल्य बढ्यो । मकैको बिक्री मूल्य घटेको छ । 

मकैमा थोरै चिसो मात्र रह्यो भने व्यापारीले मूल्य घटाएर किन्छन् । उहाँले किसान जताबाट पनि अन्यायमा परिरहेको बताउनुभयो । एक बिघा मकै खेती गर्न सामान्यतया ८० देखि ८५ हजार रुपियाँ खर्च हुने गर्छ । पानीले दुःख नदिनु र सुकाउने प्रविधि हुने हो भने बिघामा डेढ लाखभन्दा बढी आम्दानी लिन सकिन्छ तर पछिल्ला चार/पाँच वर्षयता वैशाखमा पानी पर्ने र असार १५ गतेपछि पानी पर्न छोडिरहेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा मोरङमा २१ हजार एक सय हेक्टर क्षेत्रमा मकै खेती भएको थियो । गत वर्ष एक लाख ४७ हजार सात सय मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख दीपा देवले जानकारी दिनुभयो । 

मोरङमा मकैको उत्पादकत्वसमेत वृद्धि भएको छ । उहाँका अनुसार अघिल्लो आवमा २० हजार ४५२ हेक्टरमा मकै खेती हुँदा एक लाख ४१ हजार ११८.८० मेट्रिक टन मकै उत्पादन भएको थियो । अघिल्लो आवमा प्रतिहेक्टर ६.९० मेट्रिक टन मकै उत्पादन भएको थियो । गत वर्ष प्रतिहेक्टर उत्पादन सात मेट्रिक टन पुगेको थियो । 

किसानले समयमा मल र सिँचाइ गर्न पाउने हो भने उत्पादकत्व अझ बढ्ने ज्ञान केन्द्र प्रमुख दीपा देवले बताउनुभयो । 

आव २०७९/८० मा मोरङमा २० हजार ५२ हेक्टर जग्गामा मकै खेती भएको थियो । उक्त वर्ष एक लाख ३२ हजार ३४३.२० मेट्रिक टन मकै उत्पादन भएको थियो । तीन वर्षअघि प्रतिहेक्टर ६.६० मेट्रिक टन मकै उत्पादन भएकोमा गत वर्ष प्रतिहेक्टर ०.४० प्रतिशतले उत्पादकìव बढेको छ ।