बबई समाचारदाता
बबई (बर्दिया), वैशाख २९ गते । तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दै जाँदा वन्यजन्तुका लागि पानीको अभाव हुन थालेपछि बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा सोलार प्रविधियुक्त पोखरी निर्माण गरिएको छ । दुर्लभ वन्यजन्तु कृष्णसारलाई गर्मीमा सहज रूपमा पानी उपलब्ध गराउने उद्देश्यले संरक्षण क्षेत्रभित्र विभिन्न स्थानमा सोलार पोखरी निर्माण गरिएको हो ।
गुलरिया नगरपालिका–२ स्थित कृष्णसार संरक्षण क्षेत्रमा हाल छ स्थानमा सो पोखरी निर्माण गरिएको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । करिब दुई हजार ५५० बिघा क्षेत्रफलमा फैलिएको संरक्षण क्षेत्रमा हाल २४४ कृष्णसार छन् । तीमध्ये ६१ भाले, १६८ पोथी र १५ बच्चा छन् । सोलार प्रणाली बिहान घाम लागेपछि सञ्चालन हुने र साँझ घाम अस्ताएपछि स्वतः बन्द हुने भएकाले पोखरीमा निरन्तर पानी उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।
कृष्णसार संरक्षण क्षेत्र कार्यालय बर्दियाका सूचना अधिकारी रामु केसीका अनुसार संरक्षण क्षेत्रभित्र पर्याप्त पानी नहुँदा कृष्णसार पानीको खोजीमा बाहिरिने र त्यस क्रममा कुकुर तथा अन्य वन्यजन्तुको आक्रमणमा पर्ने जोखिम बढ्ने गरेको थियो । पोखरी निर्माणपछि संरक्षण क्षेत्रभित्रै पानीको सहज उपलब्धता हुने भएकाले कृष्णसारको सुरक्षा र संरक्षणमा थप सहयोग पुग्ने उहाँले बताउनुभयो ।
गुलरिया नगरपालिका–२ का वडाध्यक्ष टङ्कप्रसाद अधिकारीले स्थानीय समुदायले सुरु गरेको संरक्षण अभियानलाई सरकारले संरक्षण क्षेत्र घोषणा गरेपछि थप व्यवस्थित रूपमा अघि बढाइएको बताउनुभयो । धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत कृष्णसारलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । भगवान् कृष्णसँग जोडेर यादव समुदायले विशेष श्रद्धाका साथ कृष्णसारलाई संरक्षण गर्ने परम्परा रहिआएको छ । तराई क्षेत्रमा विशेष गरी गुलरिया आसपासमै कृष्णसारको प्राकृतिक वासस्थान रहेको पाइन्छ ।