• २९ वैशाख २०८३, मङ्गलबार

आइसिसी क्रिकेट विश्वकप लिग–२

कठिन शृङ्खला खेल्दै नेपाल

blog

नेपाल ‘ए’ का सन्दीप जोरा सोमबार अमेरिकाविरुद्ध शतक बनाएपछि ।  तस्बिर : विकास द्वारे

काठमाडौँ, वैशाख २९ गते । तीन वर्षअघि आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्र जोगाएन, विश्वकप छनोटमा पनि स्वतः चयन भएको थियो । जुन विश्व क्रिकेटमा नै एक चमत्कारका रूपमा लिइएको छ । सो समय नेपाल सुरुदेखि नै पुछारबाट दोस्रो स्थानमाथि उक्लन सकेको थिएन । 

आइसिसी विश्वकप क्रिकेट लिग–२, २०२४/२७ साइकलमा पनि नेपाल अहिले सोही मोडमा रहेको छ । नेपाल २४ खेलमा आठ जित, १४ हार र दुई अनिर्णीत खेलसहित १८ अङ्क बनाएर आठ राष्ट्र सहभागी प्रतियोगितामा पुछारबाट दोस्रो स्थानमै छ । यसपालि पनि अर्को वर्ष विश्वकपको ग्लोबल क्वालिफायरमा स्वतः खेल्न र थप चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गर्न नेपालले बाँकीका १२ मध्ये धेरैभन्दा धेरै खेल जित्नुपर्ने बाध्यता छ । विश्वकप ग्लोबल छनोट दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्दै छ ।

नेपालले यसै महिना सकिएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गतकै ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी त्रिदेशीय शृङ्खला अन्तर्गत चारमध्ये तीन खेल जितेर विश्वकप ग्लोबल छनोटमा पुग्ने अभियानमा आशा भने जगाइसकेको छ । सोही कठिन लक्ष्य पूरा गर्न नेपालले अब मङ्गलबार घरेलु मैदानमै सुरु हुने अर्को विश्वकप क्रिकेट लिग–२ त्रिदेशीय शृङ्खलामा चारै खेल जित्ने उद्देश्य राखेको छ । यद्यपि नेपालका लागि यो शृङ्खाला सहज छैन । किनभने नेपालको प्रतिद्वन्द्वी अमेरिका र स्कटल्यान्ड अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहेका टिम हुन् । अमेरिका २४ खेलमा १८ जित र छ हारसहित ३६ अङ्क बनाएर अग्रस्थानमा रहेको छ । स्कटल्यान्ड २८ खेलमा १४ जित, आठ हार र छ अनिर्णीत खेलसहित ३४ अङ्कमा रहेको छ ।

स्कटल्यान्डसँग पहिलो खेल

नेपालले त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा मङ्गलबार स्कटल्यान्डविरुद्ध खेल्ने छ । स्कटल्यान्डको सामना गर्दा नेपालको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सो टिमविरुद्धको अपराजित यात्रालाई कायम राख्ने मनसाय हुने छ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत २०२३ मा स्कटल्यान्डले नेपालमा दुवै खेलमा पराजय बेहोरेको थियो । हालै भारतमा भएको विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा पनि नेपालले स्कटल्यान्डलाई हराएको थियो तर स्कटल्यान्ड एसोसिएट राष्ट्रमध्ये शीर्षस्थ टिम हो । स्कटल्यान्ड विश्वकप क्रिकेट लिग–२ उपाधि रक्षा अभियानमा रहेको छ । प्रारम्भिक ब्याट्सम्यान जर्ज मुन्सी, ब्रान्डन म्याकमलन र कप्तान रिची बेलिङ्टनका रूपमा स्कटल्यान्डसँग विश्वस्तरीय ब्याट्सम्यान छ । म्याकमलन विश्वस्तरीय अलराउन्ड हुनुहुन्छ । चालु प्रतियोगितामा सर्वाधिक रनकर्ता मुन्सेले १९ पालिमा १०४९ रन बनाइसक्नुभएको छ । स्कटल्यान्डका अर्का प्रमुख ब्याट्सम्यान मार्क वाटसँग एनपिएलमा खेलेको अनुभव छ । नेपालको हावापानी र पिचबारे वाटको अनुभवले स्कटल्यान्डलाई फाइदा पुग्ने पक्का छ । स्पिन अलराउन्डर माइकल लिस्क पनि नेपालका लागि खतरा हुन सक्छ ।

कठिन प्रतिद्वन्द्वी अमेरिका

नेपालको अर्को प्रतिद्वन्द्वी अमेरिका त यसपालि निकै फरक टिमका रूपमा प्रस्तुत भएको छ । अमेरिकाका प्रायः क्रिकेटरसमक्ष एनपिएल खेलेको अनुभव छ । मिलिन्द कुमार, साइतेजा मुक्कामल्ला र कप्तान मोनाङ्क पटेलको उपस्थितिले बलियो ब्याटिङ भएको अमेरिकाको बलिङ पनि अनुभवी सौरभ नेत्रावल्करका कारण सुदृढ छ । पछिल्ला पाँच खेल हेर्ने हो भने अमेरिकासँग नेपालको प्रदर्शन कमजोर छ । पछिल्ला चार ओडिआईमा नेपाललाई हराउने अमेरिका घरेलु टिमका लागि कठिन टिम हुन सक्छ । नेपालले मे १६ र २२ तारिखमा अमेरिकासँग खेल्ने छ । 

घरेलु मैदानको फाइदामा नेपाल

नेपाल ‘ए’ सँग भ्रमणकारी दुवै टिम अमेरिका र स्कटल्यान्डले अभ्यास खेलमा दुवै खेल हारेपछि नेपालको सिनियर टिमको मनोबल उच्च बनेको छ भन्दा फरक पर्दैन । यसै गरी हालै सकिएको युएई र ओमानविरुद्धको शृङ्खलामा चारमध्ये तीन खेल जितेकाले पनि नेपाल राम्रो लयमा खेल्ने छ । आगामी शृङ्खलाका लागि बसिर अहमदको स्थानमा ईशान पाण्डेलाई टिममा समावेश गरिएको छ । ईशान प्राविधिक रूपमा राम्रा ब्याट्सम्यान हुनुहुन्छ । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल पनि टिममा फर्किनुभएको छ । पछिल्लो शृङ्खलामा विश्वास गरिएका अर्जुन कुमाल र विनोद भण्डारीले अर्को अवसर पाउनुभएको छ । यद्यपि यस शृङ्खलामा पनि नेपाललाई अनुकूल नतिजा दिलाउने जिम्मेवारी प्रमुख रूपमा दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेमा रहने छ । यी दुवै स्टार अहिले सानदार लयमा रहेका छन् । कप्तान रोहित पौडेलले आफ्नो गुमेको लय यस शृङ्खलामा फर्काउनुपर्ने छ । 

नेपाली टिम हेर्ने हो भने सन्तुलित छ । ब्याटिङमा लचकता छ । बलिङमा विविधता मात्र होइन अनुभव पनि छ । घरेलु वातावरणमा खेल्दै छ जसलाई घरेलु समर्थकको सहयोग र साथ हुने छ । नेपाल घरेलु मैदानमा राम्रो क्रिकेट खेल्ने टिम पनि हो ।

जोराको शतक

सन्दीप जोराले शतक बनाएपछि नेपाल ‘ए’ ले सोमबार अभ्यास खेलमा अमेरिकालाई सात रनले पराजित गरेको छ । नेपाल ‘ए’ ले अभ्यास खेलमा लगातार चार जित हात पारेको हो । सो क्रममा नेपाल ‘ए’ ले अमेरिका र स्कटल्यान्डलविरुद्ध दोहोरो जित हात पा¥यो । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको अभ्यासस्वरूप स्कटल्यान्ड र अमेरिकाले नेपाल ‘ए’ सँग दुई खेलको अभ्यास शृङ्खला खेलेका हुन् ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले ४९.५ ओभरमा अलआउट भएर २६४ रनको प्रतिस्पर्धात्मक स्कोर तयार पारेको थियो । जोराले ११५ बलमा नौ चौका र चार छक्काको सहयोगमा १११ रन बनाउनुभयो । यसै गरी बसिर अहमदले ३८, मयन यादवले २४, पवन सरार्फले २० र नारायण जोशी १६ रनको उपयोगी पालि खेल्नुभयो । अमेरिकाका लागि सौरभ नेत्रभाल्करले सर्वाधिक तीन विकेट लिनुभयो ।

अमेरिका जवाफमा ४९.१ ओभरमा २५७ रनमा अलआउट भयो । अमेरिकाका लागि सेहान जयसुर्याले सर्वाधिक ७१ रन बनाउनुभयो । स्पिनर शेर मल्लले चार तथा बसिरले तीन विकेट लिएर अमेरिकालाई लक्ष्यसम्म पुग्नबाट रोक्नुभयो । शाहब अलाम र पवनले पनि एक–एक विकेट लिनुभयो ।