काठमाडौँ, वैशाख ७ गते । खेलकुदमा कुनै कुनै राष्ट्रबिचको प्रतिद्वन्द्विता हेर्नलायक हुन्छ । यस प्रकारको प्रतिद्वन्द्विता नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच हुने खेलमा पनि रहन्छ । नेपाल र युएई अन्तर्राष्ट्रिय क्रिकेटमा परम्परागत प्रतिद्वन्द्वी हुन् ।
यो शृङ्खला अन्य केही कारणले पनि विशेष छ । सर्वाधिक लोकप्रिय घरेलु क्रिकेटरमध्ये एक दीपेन्द्रसिंह ऐरीले पहिलो पटक टी–२० मा नेपालको नेतृत्व गर्नुहुने छ । नेपालले दुई वर्षभन्दा बढी समयपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय टी–२० क्रिकेट खेल्दै छ । यसै गरी नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक रातिको समयमा कृत्रिम प्रकाशमा अन्तर्राष्ट्रिय खेल हुँदै छ भने नेपालका प्रशिक्षक स्टुवार्ट लको पनि घरेलु मैदानमा यो पहिलो शृङ्खला बन्ने छ ।
बराबरको टिम
नेपाल र युएईले एकअर्कासँग १७ ओडिआई र ११ टी–२० आई खेल खेलिसकेका छन् । हेड टु हेड हेर्ने हो भने दुवै संरचनामा नेपाल र युएईबिच बराबरको टक्कर नै छ । ओडिआईमा नेपालले नौ र युएईले आठ खेल तथा टी–२० आईमा नेपालले छ तथा युएईले पाँच खेल जितेका छन् । नेपालले सोमबार युएईसँग पुनः अर्को शृङ्खलाको सुरुवात गर्दै छ । नेपाल र युएईबिच त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई खेलको टी–२० आई शृङ्खला हुन लागेको हो । दोस्रो खेल मङ्गलबार हुने छ । वैशाख १२ गते सुरु हुने नेपाल, युएई र ओमान सम्मिलित विश्वकप लिग–२ शृङ्खलाअघि यो टी–२० शृङ्खला हुन लागेको हो । सोही महिना नै नेपालले घरेलु भूमिमै स्कटल्यान्ड र अमेरिकासँग पनि आइसिसी विश्वकप लिग–२ खेल्ने छ ।
दीपेन्द्रको नेतृत्वमा टिम
दीपेन्द्रसिंहले युएईविरुद्धको खेलमा टिमको नेतृत्व गर्नुहुने छ । त्यसैले दीपेन्द्रसिंहका लागि यो शृङ्खला विशेष हुने छ । यस पटक क्यानले एकदिवसीय र टी–२० क्रिकेटका लागि छुट्टाछुट्टै कप्तान र टिम चयन गरको हो । यसअघिका कप्तान रोहित पौडेल टी–२० टिममा समेत हुनुहुन्न । यसै गरी सोमपाल कामी, करण केसी, ललित राजवंशी र आसिफ शेख जस्ता अनुभवी र टिमका नियमित सदस्यलाई पनि टी–२० टिममा स्थान दिइएको छैन ।
सोमपाल र करणको अनुपस्थितिमा युवा तेज बलर हेमन्त धामी र नन्दन यादवले तेज बलिङ आक्रमणको जिम्मेवारी समाल्नुहुने छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा हेमन्त १० खेलमा सर्वाधिक २७ विकेट लिएर सर्वश्रेष्ठ बलर बन्नुभएको थियो । त्यसैले सानदार लयसहित युएईविरुद्ध मैदानमा उत्रिने हेमन्तमाथि नजर रहने छ । हेमन्तसँगै अलराउन्डर सन्तोष यादव
अन्तर्राष्ट्रिय पदार्पणको प्रतीक्षामा रहनुभएको छ । सन्तोष प्रधानमन्त्री कपका सर्वश्रेष्ठ खेलाडी हुनुहुन्छ । यसै गरी नियमित प्रारम्भिक ब्याट्सम्यान आसिफको अनुपस्थितिमा नयाँ प्रारम्भिक जोडी देखिने छ । कुशल भुर्तेलको साथमा लोकेश बम अथवा अर्जुन साउद सुरुमै ब्याटिङका लागि क्रिजमा उत्रने सम्भावना धेरै छ । साउद सन् २०२२ पछि टिममा पर्नुभएको हो ।
यसै गरी अलराउन्डर कुशल मल्लले पनि राष्ट्रिय टिममा पुनरागमन गर्दै हुनुहुन्छ । प्रायः टिमबाट भित्रबाहिर भइरहने कुशल मल्लका लागि राष्ट्रिय टिममा आफ्नो स्थान पक्का गर्ने यो ठुलो अवसर हुन सक्छ । यसबाहेक सन्दीप लामिछानेमा सधैँ जसो नेपालको टिमलाई जिताउने सबभन्दा ठुलो जिम्मेवारी रहने छ । अलराउन्डरले भरिएको टिम छ । घरेलु मैदानमा युएईविरुद्धको जितका लागि सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, साहब आलम र शेर मल्लमाथि पनि विश्वास गरिएको छ ।
युएई खतरनाक ब्याट्सम्यान मोहम्मद वासिमको नेतृत्वमा नेपाल आएको छ । सो टिममा वासिमसहित अलिसान सराफू र तेज बलर जुनेद सिद्दीकी हेर्नलायक खेलाडीका रूपमा रहनुहुने छ ।
प्रशिक्षक लको पहिलो घरेलु शृङ्खला
युएईविरुद्धको शृङ्खला नेपालका प्रशिक्षक स्टुवार्ट लका लागि पनि घरेलु मैदानमा पहिलो हुने छ । १३ महिनाअघि नै नेपाली टिमको प्रशिक्षक बनेका लको प्रशिक्षकत्वमा पहिलो पटक नेपालले घरेलु शृङ्खला खेल्दै छ । यसै गरी एक दिनअघि मात्र कलाम अली र वसन्त शाह ठकुरीलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।
कृत्रिम प्रकाशमा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट
नेपाल र युएईले फ्लड लाइट्समा सो शृङ्खला खेल्दै छ । नेपाली क्रिकेट इतिहासमै पहिलो पटक रातिको समयमा कृत्रिम प्रकाशमा अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । त्यसैले पनि सोमबारको खेल ऐतिहासिक हुने छ । यद्यपि यसअघि नेपाल प्रिमियर लिग–२ मा त्रिवि क्रिकेट रङ्गशालामा राति खेल भइसकेका छन् ।