• १ वैशाख २०८३, मङ्गलबार

क्रिकेटले खुसी र फुटबलले दुःखी बनाएको वर्ष

blog

काठमाडौँ, वैशाख १ गते । अहिले हरेक क्षेत्र केही स्वर्णिम अध्याय जोडिने आशामा नयाँ उमङ्ग र आशाका साथ २०८३ साललाई स्वागत गर्न तम्तयार छ । खेलकुद पनि यसको अछुतो हुने छैन तर पनि हरेक क्षेत्रमा बितेको वर्षको पृष्ठपोषण त हुन्छ नै । त्यसैले सङ्क्षिप्त रूपमा २०८२ सालमा भएका नेपाली खेलकुद गतिविधिलाई फर्केर हेर्ने छौँ ।

पछिल्ला १२ महिनाको अवधि खोतल्दा नेपाली क्रिकेटमा रचिएका सफलताको कथा अगाडि आउँछ । लगातार दोस्रो र समग्रमा तेस्रो पटक आइसिसी टी–२० विश्वकपमा खेलेको नेपालले वाहवाही बटुल्यो । सो विश्वकपको पहिलो खेलमै नेपाली क्रिकेट टिम र समर्थकले क्रिकेटको जननी इङ्ग्ल्यान्डविरुद्धको खेलमा इतिहास रच्नबाट नजिक पुगेर असफल हुँदा हुने पीडाको अनुभव गरे । नेपाल दुई पटकको विजेता तथा प्रमुख उपाधि दाबेदार इङ्ग्ल्यान्डसँग चार रनले स्तब्ध भयो । नेपाललाई इङ्ग्ल्यान्डविरुद्धको खेलमा इतिहास बनाउन मात्र एक ठुलो हिटको आवश्यकता थियो । त्यसपछि नवप्रवेशी इटाली र वेस्ट इन्डिजसँग हारे पनि नेपालले आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई हराएर विश्वकपको यात्राको अन्त्य सुखद रूपमा ग¥यो । नेपालले विश्वकपमा १२ वर्षपछि जित प्राप्त गरेको हो ।

सोही वर्ष नेपालको टेस्ट मान्यताप्राप्त टिमसँग क्रिकेट शृङ्खला खेल्ने सपना पनि साकार भयो । नेपालले वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी–२० शृङ्खला २–१ ले जितेर इतिहास नै बनायो । सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने टिमविरुद्ध नेपालले शृङ्खला जित्छ भन्ने कमै थिए । आइसिसी विश्वकप लिग–२ का लागि स्कटल्यान्ड पुगेको नेपालले युरोपेली भूमिमा हालसम्मकै उत्कृष्ट प्रदर्शन ग¥यो । नेदरल्यान्ड्स पनि सम्मिलित सो शृङ्खलामा नेपालले अनपेक्षित रूपमा चारमध्ये तीन खेल जित्यो । सो शृङ्खलामा स्कटल्यान्डविरुद्धको खेलमा ३२१ रन बनाएर नेपाल अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा सर्वाधिक स्कोर बनाउन सफल भएको थियो । त्यसपछि भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल उपविजेता बन्यो । यस शृङ्खलामा नेपाल र नेदरल्यान्ड्सले जितको छिनाफानो गर्न तीन सुपर ओभर खेलेका थिए । जुन तीन सुपर ओभर भएको अन्तर्राष्ट्रिय क्रिकेटकै पहिलो खेल भएको छ । 

नेपाल आइसिसी विश्वकप टी–२० एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल अपराजित बनेर च्याम्पियन बन्यो । नौ राष्ट्र सहभागी प्रतियोगिताबाट नेपाल दुई खेलअघि नै विश्वकप टी–२० का लागि चयन भएको थियो । नेपाल विश्वकप छनोट प्रतियोगिता नै जितेर विश्वकप टी–२० मा पुगेको यो पहिलो पटक हो । यसै गरी नेपालको युवा टिम यु–१९ विश्वकपको एसिया छनोटमा अन्तिम बाधा पार गर्न नसक्दा नजिक पुगेर पनि विश्वकपबाट टाढियो । नेपाल क्रिकेट लिग (एनपिएल) को दोस्रो संस्करणले पनि विश्वमा चर्चा पायो  । रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स नाटकीय यात्रासहित च्याम्पियन बन्यो ।


महिला क्रिकेटमा नेपालले थाइल्यान्डमा भएको महिला विश्वकपको एसिया छनोटको शीर्ष दुईमा स्थान बनाएर विश्वकपको ग्लोबल छनोटमा स्थान बनायो । नेपालमा भएको ग्लोबल छनोटमा भने नेपालले एक खेल मात्र जित्न सक्यो । थाइल्यान्डमा भएको महिला एसिया कप राइजिङ स्टारमा नेपाल तिनै खेलमा पराजित भयो । नेपाली दृष्टिविहीन महिला क्रिकेट टिमले चुपचाप, होहल्लाबिना विश्वकप दृष्टिविहीन टी–२० क्रिकेटमा उपविजेता बनेर क्रिकेटकै सबभन्दा ठुलो गौरव हासिल ग¥यो । नेपाली क्रिकेटलाई विश्वमा चिनाउनेमा अब नेपालको दृष्टिविहीन महिला क्रिकेट टिम पनि जोडिएको छ । 

नेपाली फुटबलका लागि भने २०८२ साल बिर्सनलायक रह्यो । नेपालले मैदानमा एक अन्तर्राष्ट्रिय खेल पनि जित्न सकेन । घरेलु फुटबलको सर्वोच्च प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिग हुन सकेन । जसले खेलाडी तथा क्लबहरू आन्दोलनमा उत्रे । विदेशी खेलाडीको श्रम स्वीकृति विवादले पुरुष र महिला राष्ट्रिय लिग बिचमै रोकिए । 

उमेर समूहमा नेपालको प्रदर्शन ठिकठाक मात्र रहयो । भारतमा भएको यु–१९ र माल्दिभ्समा भएको यु–२० दुवै प्रतियोगितामा नेपाल सेमिफाइनलबाट बाहिरियो । श्रीलङ्कामा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपमा पनि नेपालले सेमिफाइनलसम्मको यात्रा तय ग¥यो । म्यानमारमा भएको एएफसी यु–१७ एसियन कप छनोटमा भने नेपाल जितविहीन बन्यो । यसै गरी सो वर्ष फ्रेन्चाइ लिग एनएसएलको अवसरमा ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसले नेपाल भ्रमण गर्नुभएको थियो ।

नेपाली महिला फुटबल टिमले उज्बेकिस्तानमा भएको एएफसी एसियन कप छनोटमा सानदार प्रदर्शन ग¥यो । उज्बेकिस्तानसँग अन्तिम खेलमा पेनाल्टी सुटआउटमा ४–२ ले निराश भएप्छि मात्र नेपाल एसियन कपमा चयन हुनबाट वञ्चित भएको थियो । यद्यपि नेपाली महिला टिमलाई सो गौरवशाली यात्रा गराएका बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्डले एन्फाको व्यवस्थापनलाई दोष दिँदै राजीनामा दिएर उतैबाट घर फर्कनु दुःखद पक्ष रह्यो । सोही वर्ष नेपालको एपिएफ भारतको इस्ट बङ्गालसँग घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा ३–० ले हारेपछि साफ महिला क्लब च्याम्पियनसिपको पहिलो च्याम्पियन हुने गौरवबाट वञ्चित भयो । यसै गरी साफ यु–२० महिला च्याम्पियन्सिपको फाइनलमा पनि नेपाल फाइनलमा घरेलु टिम बङ्गलादेशसँग निराश बन्यो । यद्यपि सो प्रतियोगितामा नेपालकी पूर्णिमा राई सर्वाधिक १० गोलसहित सर्वाधिक गोलकर्ता बन्नुभयो ।

अन्य खेलले पनि नेपाललाई छिटपुट अन्तर्राष्ट्रिय सफलता दिलाए । कराँतेकी सानुमाया थिङ र एरिका गुरुङले छनोट चरण पार गरेर कराँते विश्वकपमा च्याम्पियनसिप खेल्नुभयो । एरिकाले पहिलो सहभागितामै मोरक्कोमा भएको कराँते–१ प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जित्नुभयो ।  नेपालका लागि कराँते प्रिमियर लिगको इतिहासमै यो पहिलो पदक बन्यो । त्यसपछि उहाँले टर्कीमा भएको कराँते वन प्रिमियर लिगमा पनि रजत पदक जितेर अर्को इतिहास बनाउनुभयो । उहाँले मलेसियामा भएको कराँते वान सिरिज ‘ए’ मा स्वर्ण पदक पनि जित्नुभयो । नेपालले श्रीलङ्कामा भएको नवौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा पनि २१ स्वर्ण पदक जितेर आफ्नो छाप छोड्यो ।

महिला भलिबलमा नेपालले केही अन्तर्राष्ट्रिय सफलता हात पा¥यो । माल्दिभ्समा भएको यु–१९ महिला नेपालले रजत पदक जित्यो । यसै गरी नेपाल पुलिस काभा महिला क्लब च्याम्पियनसिप तथा हेल्प नेपाल स्पोर्टस क्लब काभा महिला क्लब पुरुष च्याम्पियनसिपमा तेस्रो भए । नेपालले भुटानमा भएको बिच भलिबलमा पनि स्वर्ण र रजत पदक हात पारेको थियो ।

यसै गरी दुबईमा भएको आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा चन्द्रबहादुर थापाले ऐतिहासिक कांस्य पदक जित्ने क्रममा आर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई हराउनुभयो । फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कांस्य पदक जित्यो । भुटानको थिम्पुमा भएको चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो भयो । नेपालका लागि महिला बक्सर आरती बमजन, अस्मिता दुवाल, वर्षा श्रेष्ठ र पुरुष बक्सर लक्ष्मण राईले स्वर्ण पदक जित्नुभयो । एसियाली बक्सिङ च्याम्पियनसिपको पुरुष यु–२२ उमेर समूहमा नेपालका अर्पिल रानाले पनि कांस्य पदक हासिल गर्नुभयो ।

भारतको झारखण्डमा साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सन्तोषी श्रेष्ठ र मुकेश पालले पाँच हजार मिटर दौडमा कांस्य पदक हासिल गर्नुभयो । नेपालले चार गुणा चार सय मिक्स रिलेमा पनि तेस्रो स्थान हासिल ग¥यो । टेनिसकी  युवा खेलाडी शिभाली गुरुङले ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको १४ वर्षमुनिको जुनियर इलिट ट्रफी विधामा खेलेर इतिहास बनाउनुभयो । 

पारा खेलकुदतर्फ पनि केही सफलता प्राप्त भयो । नेपालकी पारा ओलम्पिक पदक विजेता पलेशा गोवर्धनले १० औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी–४) मा कांस्य पदक जितेर आफ्नो चर्चा कायम राख्नुभयो । यसै गरी पाँचौँ एसियाली युथ पारा गेम्स अन्तर्गत टेबलटेनिसको यु–२३ पुरुष एकल (क्लास ७) मा नेपालका स्वीकृत न्यौपानेले रजत पदक तथा तेक्वान्दोमा नेपालकी रेणु तामाङले कांस्य पदक जित्नुभयो ।

नेपाली खेलकुदको सबभन्दा ठुलो प्रतियोगिताको राष्ट्रिय खेलकुद हुन नसक्नु पनि विडम्बना बन्यो । २०७९ कात्तिक ३ गते दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै विश्राम लिएको १० औँ राष्ट्रिय खेलकुद पटक पटक मिति तय भएर पनि सरेको सरै छ ।