जनार्जन खत्री
सर्लाही, वैशाख २२ गते । सर्लाहीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा सोमबार साँझ तीव्र गतिमा चलेको हावाहुरी र वर्षाले क्षति पुर्याएको छ । हुरीबतासले आँप र लिचीका चिचिला, कच्ची घरका छाना तथा मकै बालीमा क्षति पुर्याएको छ । साँझ करिब ५ बजे अचानक तीव्र हावाहुरी चल्दा जनजीवन प्रभावित बनेको थियो ।
सुरुमा पानी नपरी केवल हावाहुरी चलेपछि चारैतिर धुलोले ढाकिएको थियो । पछि चट्याङसहित वर्षा पनि भएको हो । साँझको हावाहुरी, चट्याङ र वर्षाका कारण सडकमा यात्रा गरिरहेका यात्रु तथा सर्वसाधारण प्रभावित बनेका थिए । हावाहुरीले ठाउँ–ठाउँमा सडकछेउका रुखका हाँगा भाँचेर तथा ढालेर अवरोध सिर्जना गरेको छ ।
तीव्र हावाहुरीले सर्लाहीको बागमती नगरपालिका–२ धरहरास्थित जन बालकल्याण माध्यमिक विद्यालयको जस्तापाताको छानो उडाएको विद्यालयका प्रधानाध्यापक प्रकाशबहादुर जिम्बाले जानकारी दिनुभयो ।
हावाहुरीका कारण सर्लाहीमा लालबन्दी, मलङ्गवा र बरहथवा वितरण केन्द्रमार्फत विद्युत आपूर्ति अवरुद्ध भएको थियो । प्राविधिकहरू मध्यरातसम्म परिचालन भएपछि विद्युत सेवा पुनः सञ्चालन गरिएको लालबन्दी वितरण केन्द्रका प्रमुख सुरज ढुङ्गेलले बताउनुभयो । पोल ढलेका तथा तार लत्रिएका स्थानमा मर्मतका लागि आज (मङ्गलबार) बिहानदेखि पनि प्राविधिक परिचालन गरिएको छ ।
सर्लाहीसहित देशका धेरै ठाउँमा यस वर्ष वैशाख अन्तिमतिर आइपुग्दा पनि बारम्बार वर्षा भइरहेको छ । निरन्तर वर्षाका कारण चुरे क्षेत्रका किसानले समयमा मकै रोप्न पाएका छैनन् ।
आइतबार र सोमबार मौसम खुल्दा रोपिएको मकै पनि गएरातिको वर्षाले असर पारेको किसानहरूले गुनासो गरेका छन् । वर्षाका कारण चुरेभेगको नारायणखोला क्षेत्रबाट सञ्चालन हुने बस सेवा गत शुक्रबारदेखि ठप्प छ ।
बेलाबेलामा वर्षा भइरहँदा सर्लाहीसहित मधेश क्षेत्रमा यो वर्ष चर्को गर्मी महसुस भएको छैन । यसैबिच, सोमबार साँझ एकाएक बदली भई प्रतिकूल बनेको मौसम मङ्गलबार भने सफा भएको छ । बिहानैदेखि घाम लागेर मौसम खुलेको छ ।