विजयकुमार साह
ढल्केबर, वैशाख २२ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सत्ता गठबन्धनमा रहेका दलबिच कुनै पनि प्रकारको मतभिन्नता नरहेको स्पष्ट पार्नुभएको छ । नेपाली कांग्रेसबाहेकका दलबिच नयाँ सरकार गठनका विषयमा प्रारम्भिक सहमति भएको चर्चा बाहिरिएपछि मुख्यमन्त्री यादवले यस्तो स्पष्टीकरण दिनुभएको हो ।
मुख्यमन्त्री यादवले वर्तमान सरकार पूर्ण कार्यकाल टिक्ने र सरकारले आफ्नो गतिमा काम अगाडि बढाइरहेको दाबी गर्नुभयो । उहाँले गठबन्धनभित्र कुनै पनि विमति वा असन्तुष्टि महसुस नगरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘म सरकारको नेतृत्व गरिरहेको छु, तर मैले अहिलेसम्म गठबन्धनभित्र कुनै विमतिको कुरा सुनेको छैन । बाहिर कसले के बोल्छ, त्यो व्यक्तिको निजी विषय हुन सक्छ, तर सरकारमा रहेका दल र मन्त्रीहरूबिच पूर्ण एकता छ ।’’
नेपाली कांग्रेस मधेश प्रदेशका सभापतिसमेत रहनुभएका मुख्यमन्त्री यादवले पार्टीभित्र पनि कुनै विवाद नरहेको बताउनुभयो । उहाँले पार्टीका केन्द्रीय सभापति गगन थापासँग सरकारलाई थप प्रभावकारी र गतिशील बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री यादवले वर्तमान सरकार स्थायी प्रकृतिको भएको र यसले प्रदेशको विकास र सुशासनका लागि निरन्तर काम गरिरहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।