• २२ वैशाख २०८३, मङ्गलबार

कर्णाली प्रतिष्ठानमा ६ घण्टाको शल्यक्रियापछि न्युरो अपरेसन सफल

blog

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टाउकोको न्युरो शल्यक्रिया गर्दै चिकित्सक टोली । तस्बिर : नेत्र शाही

नेत्र शाही
जुम्ला, वैशाख २२ गते ।
जुम्ला पातारासी गाउँपालिका–३ का गोरबहादुर बोहरा छतबाट खसेर गम्भीर घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अस्पतालको इमरजेंसीमा पुर्‍याइएका बोहरा बेहोस अवस्थामा हुनुहुन्थ्यो र तत्काल भेन्टिलेटरमा राखिएको थियो ।

प्रारम्भिक अवस्थामा अस्पतालले न्युरो सर्जन नहुँदा बिरामीलाई रेफर गर्ने तयारी गरेको थियो । तर मौसम प्रतिकूल भएकाले हवाई उद्धार सम्भव भएन ।

यही क्रममा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख कन्सल्टेन्ट तथा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका न्युरो सर्जरी प्राध्यापक डा। निलम खड्का निजी कामका लागि जुम्ला आएको जानकारी प्राप्त भयो । उहाँ जुम्लाको गुठिचौरस्थित विपश्यना केन्द्रमा १० दिने ध्यान तथा स्वयंसेवक प्रशिक्षणमा रहनुभएको थियो ।

बिरामीका आफन्त र स्थानीय जनप्रतिनिधिको टोली गुठिचौर पुगेर डा. खड्कालाई शल्यक्रियाका लागि अनुरोध गरेपछि उहाँ ध्यान छोडेर कर्णाली प्रतिष्ठान आउनुभयो । गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकाया, समाजसेवी तथा शिक्षक जयशंकर धिताललगायतले पनि समन्वय गर्नुभएको थियो ।

डा। खड्काको नेतृत्वमा रहेको चिकित्सक टोलीले करिब छ घण्टा लगाएर बोहराको टाउकोमा जमेको रगत (न्युरो सर्जरी) सफलतापूर्वक निकालेको हो ।

डा. खड्काले व्यक्तिगत कामका क्रममा जुम्ला आएको बेला बिरामीको अवस्था गम्भीर भएकाले शल्यक्रिया गर्नुपरेको बताउनुभयो । सीमित स्रोत–साधनका बीच शल्यक्रिया सफल भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

प्रतिष्ठानको शल्यक्रिया विभाग प्रमुख डा. निर्मल थापाले विशेषज्ञ डा. खड्काको सहयोगमा शल्यक्रिया सफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अवसरमा थप तीन जना न्युरोसम्बन्धी बिरामीको समेत परीक्षण गरिएको छ ।

बिरामीका छोरा दीपराज बोहराले शल्यक्रियापछि बुबा होसमा आएको बताउँदै राहत व्यक्त गर्नुभयो । “जहाज पनि आएन, काठमाडौँ लैजाने आर्थिक अवस्था पनि थिएन,” उहाँले भन्नुभयो, “डा. खड्काको सहयोगले बुबाको ज्यान बच्यो।”

डा. निलम खड्का विगत १८ वर्षदेखि न्युरो सर्जनका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा समेत सेवा दिइसक्नुभएको छ । कर्णाली प्रतिष्ठानमा न्युरो सर्जन सेवा नियमित रूपमा सञ्चालन गर्नुपर्ने माग स्थानीयले गर्दै आएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टाउकोको न्युरो शल्यक्रिया गर्दै चिकित्सक टोली । तस्बिर स् नेत्र शाही