• २२ वैशाख २०८३, मङ्गलबार

बाँकेमा विद्युत वितरण सुधार अभियान तीव्र

blog

विद्युत वितरण सुधारका लागि फिल्डमा खटिएका वितरण केन्द्रका कर्मचारी । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख २२ गते ।
बाँके जिल्लामा विद्युत आपूर्ति सहज बनाउन र उपभोक्तालाई समस्या नपर्ने गरी नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले सुधार अभियान तीव्र पारेको जनाएको छ ।

गर्मी याममा प्रत्येक वर्ष नेपालगन्ज, कोहलपुर, खजुरा र राँझालगायत क्षेत्रमा विद्युत आपूर्तिमा समस्या देखिने गरेकामा यस वर्ष सो समस्या न्यूनीकरण गर्न विभिन्न सुधारात्मक कार्य निरन्तर भइरहेको नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख संजयकुमार मिश्रले बताउनुभयो ।

उहाँले विद्युत आपूर्तिमा सुधार र अनियमितता नियन्त्रणका लागि आफैँ फिल्डमा खटिएको जनाउँदै सबै प्रकारका सुधार कार्य निरन्तर भइरहेको स्पष्ट पार्नुभयो ।

सार्वजनिक बिदाका दिनमा समेत वितरण केन्द्रको टोलीले स्थलगत निरीक्षण गर्दै सिँचाइ, घरेलु तथा अन्य ग्राहकको सेवा अवस्थाबारे अनुगमन गरिरहेको प्रमुख मिश्रले जानकारी दिनुभयो ।

वितरण केन्द्रका अनुसार पछिल्लो समय बाँकेमा विद्युत आपूर्ति र वितरण प्रणालीमा उल्लेख्य सुधार आएको छ । तीन महिनाभित्र पाँच वटा नयाँ फिडर थपिएपछि ओभरलोड समस्या घटेको दाबी गर्दै गर्मीयाममा आपूर्ति अवरुद्ध नहुने अपेक्षा गरिएको छ ।

एकातिर वितरण केन्द्रले विद्युत आपूर्ति सुधार र व्यवस्थापनमा काम गरिरहेको छ भने अर्कोतर्फ बक्यौता असुलीमा पनि कडाइ गरिएको छ । पाँच महिनामा पाँच हजारभन्दा बढी लाइन काटिएको र तीमध्ये चार हजार ग्राहकबाट करिब सात करोड रुपैयाँ असुल गरी पुनः सेवा सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

लामो समयदेखि बक्यौता नबुझाउने ग्राहकको लाइन काट्न थालेपछि महसुल बुझाउने क्रम तीव्र भएको नेपालगन्ज वितरण केन्द्रका लेखा अधिकृत नन्दसिंह सिकर्मीले बताउनुभयो । उहाँले विद्युत वितरण सुधार र बक्यौता असुली दुवै काम सँगसँगै अघि बढाइएको जानकारी दिनुभयो ।

अनुगमनका क्रममा सिँचाइ प्रयोजनका लागि जडान गरिएका मिटर अन्य प्रयोजनमा प्रयोग भएको भेटिएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको पनि वितरण केन्द्रले जनाएको छ । ग्रामीण क्षेत्रमा सिँचाइ मिटर दुरुपयोगको गुनासो आएपछि गाउँस्तरमै पुगेर अनुगमन गर्ने कार्य जारी रहेको केन्द्रले जनाएको छ ।