• २२ वैशाख २०८३, मङ्गलबार

गुल्मीमा १५ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइयो

blog

गुल्मीमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, वैशाख २२ गते।
गुल्मीमा १५ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ। यहि वैशाख ६ र ७ गते सञ्चालन भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत यस जिल्लाका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको हो।

दुई दिनसम्म सञ्चालन भएको यस कार्यक्रममा छ महिनादेखि पाँच वर्ष उमेरसम्म १५ हजार ३२२ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको हो। यहाँको रेसुङ्गामा दुई हजार २४, मुसिकोटमा एक हजार ८७३, कालीगण्डकीमा एक हजार ४०, सत्यवतीमा एक हजार ३७, चन्द्रकोटमा एक हजार १८०, इस्मामा एक हजार १८२ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल क्याप्सुल खुवाइएको छ।

त्यसैगरी मालिकामा एक हजार ३४०, मदानेमा एक हजार ३५२, धुर्कोटमा एक हजार २१८, गुल्मीदरबारमा ९१४, छत्रकोटमा एक हजार २२४ र रुरुक्षेत्रमा ९३८ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल क्याप्सुल खुवाइएको हो। त्यस्तै, एक वर्षदेखि पाँच वर्ष उम्मेरसम्मका १३ हजार ७३२ बालबालिकालाई जुकाको औषधी खुवाइएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

रेसुङ्गामा एक हजार ८४४, मुसिकोटमा एक हजार ६७१, कालीगण्डकीमा ७८४, सत्यवतीमा ९२५, चन्द्रकोटमा एक हजार ५४, इस्मामा एक हजार ५८, मालिकामा एक हजार १९६, मदानेमा एक हजार १९०, धुर्कोटमा एक हजार १०२, गुल्मीदरबारमा ९६६, छत्रकोटमा एक हजार १०१ र रुरुक्षेत्रमा ८४१ जना बालबालिकालाई जुकाको औषधी खुवाइएको हो।

यस जिल्लाका ९३ वटै वडामा रहनुभएका ९९७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीकाले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउनुभएको हो। लक्ष्यित उमेर समूहका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषण जोखिम न्यूनीकरण गर्न सरकारले २०५० देखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनसँगै २०५६ देखि जुकाको औषधी खुवाउन थालेको हो। सरकारले प्रत्येक वर्षको कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ।