अमरराज नहर्की
तनहुँ, वैशाख २२ गते । पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर पश्चिम खण्डमा मुख्य सडक कालोपत्र गर्ने कार्यले पूर्णता पाएको छ । आयोजनाका अनुसार विजयपुर क्षेत्रको करिब ३५० मिटर भागमा हाल दुई लेन कालोपत्र गरिएको छ भने बाँकी अन्य सबै खण्डमा चार लेनकै कालोपत्र कार्य सम्पन्न भइसकेको छ । मुख्य सडकको काम सकिए पनि सडकको दायाँ–बायाँ रहने सर्भिस लेन निर्माणको काम भने अझै बाँकी रहेको छ ।
मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) की इन्जिनियर सहनशिला कायस्थका अनुसार हालसम्म यस खण्डको समग्र भौतिक प्रगति ७२.२९ प्रतिशत पुगेको छ भने आर्थिक प्रगति ६३.४९ प्रतिशत रहेको छ । मुख्य मार्गमा कालोपत्रको काम सकिएसँगै पोखरा आउजाउ गर्ने सवारी साधनका लागि यात्रा निकै सहज र सुरक्षित भएको छ ।
सेतीको ‘सिग्नेचर’ पुल निर्माणमा उत्साहजनक प्रगति सडक निर्माणसँगै पोखराको प्रवेशद्वारमा रहेको सेती नदीमा निर्माणाधीन चार लेनको आधुनिक ‘सिग्नेचर’ पुलको काम पनि उल्लेख्य रूपमा अघि बढेको छ । इन्जिनियर कायस्थका अनुसार उक्त पुलको भौतिक प्रगति ५८.८४ प्रतिशत र आर्थिक प्रगति ५५.२९ प्रतिशत पुगेको छ । अहिले विशेष गरी पुलको ‘डाउन स्ट्रीम’ (तल्लो तटीय क्षेत्र) तर्फको पुलमा सुपर स्ट्रक्चर निर्माणको काम भइरहेको छ । एक अर्ब सात करोड रुपियाँ लागतको यो विशेष पुलको फाउन्डेसन र एंकर ब्लक निर्माण यसअघि नै सम्पन्न भइसकेको थियो ।
चीनको यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको यो खण्ड सन् २०२६ भित्रै पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस खण्डमा निर्माण गर्नुपर्ने अन्य १२ वटा पुलहरूको काम भने यसअघि नै सम्पन्न भइसकेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालित यो आयोजनाले गण्डकी प्रदेशको राजधानी पोखरालाई देशका अन्य भागसँग आधुनिक सडक सञ्जालमार्फत जोड्नेछ ।