हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख २१ गते । मुस्ताङको घरपझोङ गाउँपालिकाले सदरुकाम जोमसोममा आयोजित १५ दिने घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सकिएको छ ।
धार्मिक तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ललितकला प्रज्ञा प्रतिष्ठानका अनुभवी मूर्तिकारको उपस्थितिमा आयोजित कार्यशालामा विभिन्न भगवान, हिमाली भेकको जैविक विविधता झल्काउन तथा पंक्षी तथा जनावरहरूको मूर्ति बनाएर समापन गरिएको हो ।
कालीगण्डकी नदीमा मात्र पाइने शालिग्रामबाट धार्मिक तीर्थस्थल मुक्तिनाथ, दामोदरकुण्डलगायतका धार्मिकस्थलमा पूजा गरिने शिव पार्वती, विष्णु, नारायण, बुद्धलगायतका भगवानका साथै मुस्ताङको हिमाली क्षेत्रमा बासस्थान रहेको हिउँचितुवा, याकनाकलगायत अन्य जंगली रघरपालुवा जनावरको मूर्ति बनाइएको प्रतिष्ठानका मूर्तिकार दिनेश्वर महतोले बताउनुभयो। मूर्तिकार महतोले भन्नुभयो,‘‘कार्यशाला सकिएको छ,सजावतको केही काम बाँकी छ ।’’

कार्यशालामा प्रतिष्ठानबाट २१ जना र २ जना अतिथि मूर्तिकारले २५ वटा मूर्ति बनाएका छन् । ललितकला प्रज्ञा प्रतिष्ठानले स्थानीय तहसँगको सहकार्यमा मूर्तिकला कार्यशाला सञ्चालन गर्ने गरेको मूर्तिकार महतोको भनाइ छ ।
कार्यशालाको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले शालग्रामको महिमा, सभ्यता र शालग्राम लोप हुनबाट जोगाउनपार्कमा राखेर धार्मिक पर्यटकलाई आर्कषित गर्ने बताउनुभयो ।
अध्यक्ष लालचनले भन्नुभयो,‘‘एकपटक घुम्नै पर्ने पार्क बनाउन आगामी बर्षमा पनि बजेट विनियोजन गछौं, सडक सञ्जालले छोटिएको पर्यटकको बसाई अवधि बढाउन सघाउने छ ।’’
कार्यशालामा कालीगण्डकी नदीको किनारामा २२ फिट अग्लो शालिग्राम शिलामा मूर्तिसहित पार्कले जोमसोम बजार सौन्दर्यकरण सहित पार्क सहित धार्मिक पर्यटन प्रवर्धन सघाउने गाउँपालिका अध्यक्ष लालचनको भनाइ छ । गाउँपालिकाले भविस्यमा अन्तर्राष्ट्रियस्तरको मूर्तिकाल कार्यशाला सञ्चालन गर्ने योजनासमेत बनाएको छ ।

