• २० वैशाख २०८३, आइतबार

कञ्चनपुरमा हावाहुरी, केही ठाउँमा क्षति

blog

बेदकोट–९ सुन्दरपुरमा हावाहुरीले उडाएको विद्यालय पार्किङस्थलको छानो ।

भवानीदत्त भट्ट 

कञ्चनपुर, वैशाख २० गते । कञ्चनपुरमा आइतबार दिउँसो चलेको हावाहुरीबाट आंशिक क्षति पुगेको छ । जिल्लाका विभिन्न क्षेत्रमा चलेको हावाहुरीबाट तीन दर्जन बढी विद्युतीय पोलमा क्षति पुगेको विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ । 

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरका प्रमुख चुटनकुमार श्रीवास्तवका अनुसार, आइतबारको हावाहुरीबाट कृष्णपुर, बेदकोट र भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्रका ३७ पोलमा क्षति पुगेको छ । 

हावाहुरीले बेदकोट नगरपालिका –९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयको पार्किङ स्थलको टिनको छानो उडाँउदा विद्युतीय पोलमा क्षति पुग्नुका साथै तार चुँडिएको उहाँले बताउनुभयो । 

“धरै स्थानमा सर्भिस तारहरूमा समेत टुटफुट भएको छ”, उहाँले भन्नुभयो–“बढी क्षति पुगेको स्थानमा लाइन काटेर मर्मतको काम गरिरहेका छौँ ।”

जनशक्ति अभावका कारण अधिकांश स्थानमा मर्मतको काम सुरु हुन नसकेको श्रीवास्तवले बताउनुभयो । टुटफुट भएको स्थानमा विद्युत अवरुद्ध गरेर सोमबार बिहानसम्म सबै स्थानमा विद्युत सुचारु गरिने उहाँले बताउनुभयो । 

यसैगरी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बेलौरीका अनुसार, पुनर्वास नगरपालिकाको मोतिबस्ती लगायतका क्षेत्रमा ६ पोल टुटफुट भएकाले मर्मतको काम भइरहेको छ । रातिसम्म दक्षिण क्षेत्रका सबै स्थानमा विधुत सुचारु गरिने सो वितरण केन्द्रले जनाएको छ ।

आइतबार दिउँसो मौसम बदली भएर हावाहुरी चले पनि आगामी तीन दिनसम्म भने मौसम सामान्य रहने महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार हावाहुरीबाट पुगेको क्षतिपूर्ति लिनुपर्ने भएमा कार्यालयले क्षतिको प्रमाणित गरिदिने छ ।