विश्वव्यापीकरणले आज मानव सभ्यतालाई नयाँ युगमा प्रवेश गराएको छ । कुनै समय सीमित भूगोल, सीमित अवसर र सीमित पहुँचमा बाँधिएको जीवन आज विस्तार हुँदै ‘विश्वग्राम’ को रूपमा विकसित भइसकेको छ । वस्तु, सेवा, पुँजी र प्रविधिको निर्बाध प्रवाहले राष्ट्रबिचका सीमालाई कमजोर बनाइदिएको छ । नेपालमै बसेर विश्वका जुनसुकै वस्तु तथा सेवा उपभोग गर्न सकिन्छ । क्षमता, सिप र अवसर हुने व्यक्तिले त झन् विश्वका जुनसुकै कुनामा गएर आफ्नो जीवन निर्माण गर्न सक्छ ।
यो परिवर्तन केवल प्रविधि वा अर्थतन्त्रको क्षेत्रमा सीमित छैन; यसले सामाजिक र राजनीतिक संरचनामा पनि गहिरो प्रभाव पारेको छ । आजको विश्वमा व्यक्तिको मूल्याङ्कन उसको जन्म, जात वा भौगोलिक पृष्ठभूमिका आधारमा होइन; उसको क्षमता, दक्षता र योगदानका आधारमा हुन थालेको छ । अफ्रिकी मूलका बाराक ओबामा अमेरिका जस्तो शक्तिशाली राष्ट्रको राष्ट्रपति बन्नु, भारतीय मूलकी कमला ह्यारिस अमेरिकी राजनीतिमा उच्च स्थानमा पुग्नु तथा ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्नु– यी सबै उदाहरणले विश्व समाज समावेशीतर्फ उन्मुख भइरहेको स्पष्ट सन्देश दिन्छन् ।
विश्व खुला र समावेशी बन्दै जाँदा पनि नेपालका कतिपय सामाजिक र संस्थागत संरचना अझै सङ्कीर्ण सोचको घेराभित्र अल्झिएका छन् । जिम्मेवारी बाँडफाँट गर्दा ‘आफ्नो मान्छे’ र ‘अरू मान्छे’ भनेर छुट्याउने, ‘फलानो समुदाय’ वा ‘फलानो जात’ भनेर वर्गीकरण गर्ने प्रवृत्ति अझै कायम छ । स्थानीयस्तरमा गठन हुने टोल विकास संस्था र उपभोक्ता समितिमा ‘फलानो कुल’ वा ‘फलानो खलक’ का आधारमा नेतृत्व चयन गर्ने अभ्यासले समाजको गहिरो मानसिक संरचनालाई उजागर गर्छ । यो प्रवृत्ति केवल सामाजिक असमानताको समस्या मात्र होइन; यो विकासको मार्गमा ठुलो अवरोध पनि हो । जब कुनै व्यक्तिलाई उसको योग्यता र क्षमताभन्दा बाहिरका आधार; जस्तै– जात, थर, नातागोता वा समूहका आधारमा मूल्याङ्कन गरिन्छ तब त्यो व्यक्तिले आफूलाई अन्यायमा परेको महसुस गर्छ । यस्तो अनुभूति बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै गहिरो असर पार्ने खालको हुन्छ । आत्मसम्मानमा चोट पुग्दा व्यक्तिमा हीनताबोध, निराशा र मानसिक तनाव उत्पन्न हुन्छ । बिस्तारै यस्तो अवस्था दीर्घकालीन मनोवैज्ञानिक समस्यामा परिणत हुन सक्छ; जसले व्यक्तिको सोच्ने, निर्णय गर्ने र काम गर्ने क्षमतामा प्रत्यक्ष असर पु¥याउँछ ।
जब व्यक्तिको मनोबल खस्किन्छ तब उसको कार्यक्षमता पनि घट्न थाल्छ । ऊ आफ्नो कामप्रति समर्पित रहन सक्दैन, नयाँ सोच र सिर्जनशीलता हराउँदै जान्छ, र सङ्गठनप्रति उसको प्रतिबद्धता कमजोर हुन्छ । यसले अन्ततः संस्थाको समग्र प्रदर्शनमा असर पार्छ । योग्य र सक्षम व्यक्ति विभेदका कारण पछाडि पारिँदा संस्थाले आफ्नो वास्तविक सम्भावना गुमाउँछ । अवसर नपाएका व्यक्ति निराश र निष्क्रिय बन्छन्, जिम्मेवारी पाएका तर कम योग्य व्यक्तिले अपेक्षित परिणाम दिन सक्दैनन् । यसरी सङ्कीर्ण सोचले व्यक्तिगत मात्र होइन, संस्थागत र राष्ट्रिय विकाससमेत अवरुद्ध गर्छ ।
समाजको वास्तविक शक्ति भनेको विविधतामा निहित हुन्छ । फरक फरक पृष्ठभूमि, अनुभव र सोच भएका मानिस मिलेर काम गर्दा नयाँ दृष्टिकोण, नवीन समाधान र सकारात्मक ऊर्जा पैदा हुन्छ । विश्वका विकसित राष्ट्रहरूले यही तथ्यलाई आत्मसात् गरेका छन् । उनीहरूले समावेशी नीति अपनाएर सबै नागरिकलाई समान अवसर दिएका छन् । यसले गर्दा त्यहाँ प्रतिभा प्रस्फुटनको वातावरण बनेको छ । यही कारणले गर्दा त्यस्ता देश नवप्रवर्तन, उत्पादनशीलता र आर्थिक विकासमा अगाडि छन् ।
नेपालले पनि यस्ता अनुभवबाट सिक्न जरुरी छ । हाम्रो संविधानले समानता, समावेशिता र सामाजिक न्यायको ग्यारेन्टी गरेको छ । व्यवहारमा यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । नीति र व्यवहारबिचको यो अन्तर घटाउनु आजको प्रमुख चुनौती हो । यसका लागि केवल कानुनी व्यवस्था पर्याप्त हुँदैन; सोच र व्यवहारमा परिवर्तन अनिवार्य हुन्छ ।
स्थानीय तहदेखि राष्ट्रियस्तरसम्म सबै संस्थामा पारदर्शिता, उत्तरदायित्व र योग्यतामा आधारित प्रणाली लागु गर्न जरुरी छ । टोल विकास संस्था, उपभोक्ता समिति जस्ता आधारभूत संरचनामा समेत खुला प्रतिस्पर्धा, समावेशी सहभागिता र स्पष्ट मापदण्डको व्यवस्था गर्न सकियो भने विभेद घटाउन ठुलो योगदान पुग्छ । यसले समाजमा विश्वास, अपनत्व र सहकार्यको भावना विकास गर्छ ।
शिक्षाप्रणालीले पनि समावेशी सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । विद्यालयदेखि नै विद्यार्थीलाई विविधताको सम्मान गर्न, समानता र सहिष्णुताको मूल्य सिकाउन सकियो भने भविष्यमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । परिवार र समुदायले पनि यसमा समान रूपमा योगदान दिनु पर्छ । सामाजिक व्यवहार, भाषा र दृष्टिकोणमा परिवर्तन ल्याउन सके मात्र वास्तविक समावेशी समाज निर्माण सम्भव हुन्छ ।
विश्वव्यापीकरणले हामीलाई अवसर र प्रतिस्पर्धा दुवै दिएको छ । यो अवसरलाई उपयोग गर्न हामीले आफ्नो सोच परिवर्तन गर्नै पर्छ । हामी अझै पनि सङ्कीर्ण सोचमै अल्झिरह्यौँ भने विश्वग्रामको यो यात्रामा हामी पछाडि पर्ने छौँ । संसार अघि बढिरहेको छ र हामी पनि त्यससँगै अघि बढ्नु पर्छ । अब समय आएको छ– सिमाना मात्र नभई सोच पनि फराकिलो बनाउने । मनका पर्खाल भत्काउने । जब प्रत्येक व्यक्तिले आफूलाई सम्मानित, स्वीकार्य र अवसरयुक्त महसुस गर्छ तब मात्र ऊ आफ्नो पूर्ण क्षमतासहित समाज र राष्ट्रको विकासमा योगदान दिन सक्षम हुन्छ । समावेशी सोच, समान अवसर र मानव मर्यादाको सम्मान– यिनै तीन आधारस्तम्भमा उभिएर मात्र हामी समृद्ध, न्यायपूर्ण र प्रगतिशील नेपाल निर्माण गर्न सक्छौँ ।