अमरराज नहर्की
तनहुँ, वैशाख २१ गते । कुनै समय गाउँका युवाहरू रोजगारीका लागि विदेशिने र परिवारसहित सहर पस्ने क्रम बढेपछि लमजुङको बेसीशहर नगरपालिका–३ स्थित काउलेपानी गाउँ सुनसान बन्दै गएको थियो । तर जब गाउँमा ‘काउलेपानी सामुदायिक होमस्टे’ को सुरुवात भयो, तब गाउँको रूप नै फेरियो । आज यही होमस्टे ग्रामीण पर्यटनको मात्र होइन, गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय नमुना बनेको छ ।
सन् २०१४ मा नेपालकै उत्कृष्ट होमस्टे घोषित भएको काउलेपानीमा हाल १४ घरपरिवारले व्यावसायिक रूपमा होमस्टे सञ्चालन गरिरहेका छन् । स्थानीय संस्कृति, न्यानो आतिथ्य र रैथाने खानपानका कारण यहाँ बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ । काउलेपानी सामुदायिक होमस्टेका अध्यक्ष देउबहादुर गुरुङ भन्नुहुन्छ, “होमस्टे सुरु गरेपछि गाउँलेको आयस्तरमा ठुलो परिवर्तन आएको छ । विदेश जाने सोच बनाएका युवाहरू अहिले गाउँमै तरकारी खेती, पशुपालन र हस्तकलाका काममा व्यस्त छन्। यसले गाउँको बसाइँसराइ रोक्न ठुलो मद्दत गरेको छ ।”
स्थानीय उत्पादन र संस्कृतिको जगेर्ना काउलेपानीको मुख्य विशेषता भनेकै यहाँ आउने पर्यटकलाई गाउँमै उत्पादित प्राङ्गारिक (अर्गानिक) खाना खुवाउनु र स्थानीय गुरुङ संस्कृतिको झाँकी देखाउनु हो । गाउँमा उत्पादित कोदोको ढिँडो, स्थानीय कुखुराको मासु, सिस्नोको सुप र गुन्द्रुकको अचारले पर्यटकलाई लोभ्याउने गरेको छ । होमस्टेबाट भएको आम्दानीले गाउँका बालबालिकाको शिक्षा र स्वास्थ्यमा समेत सुधार आएको अध्यक्ष गुरुङले बताउनुभयो ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टे गाउँ घोषणा गरेपछि काउलेपानी जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेको छ । गाउँमा पदैल मार्ग, पाहुना सत्कार कक्ष, दृश्यावलोकन टावर, खानेपानी व्यवस्थापन, वनभोजस्थल तथा काउलेपानी देवी मन्दिर जाने बाटो अनुभव बाड्दै पर्यटन मार्टमा काउलेपानीको यही सफलताको कथा र अनुभव तनहुँको बन्दीपुरमा वैशाख १९ गते सम्पन्न ‘गाउँ पर्यटन मार्ट २०८३’ मा समेत आकर्षणको केन्द्र बन्यो । गण्डकी प्रदेशका १० जिल्लाका २९ वटा होमस्टे सहभागी भएको उक्त मार्टमा काउलेपानीका सञ्चालकहरूले आफ्नो दशक लामो अनुभव र दिगो पर्यटनका उपायहरू अरू सहभागीहरूसँग साटेका थिए ।
मार्टले देशभरका सरोकारवालाहरूबीच सशक्त नेटवर्किङ र सहकार्यको आधार निर्माण गरेको थियो । उक्त कार्यक्रममा प्रत्येक होमस्टेमा स्थानीय उत्पादन र हस्तकलाको प्रवर्धनका लागि ‘कोसेली घर’ स्थापना गर्ने र उत्कृष्ट सेवा दिने होमस्टेलाई ‘बेस्ट होमस्टे अफ द इयर’ पुरस्कार प्रदान गर्ने जस्ता १० बुँदे घोषणापत्र जारी गरिएको थियो । काउलेपानी जस्तै अन्य गाउँहरूले पनि आफ्नो मौलिकता जोगाएर होमस्टे सञ्चालन गर्न सके ग्रामीण अर्थतन्त्र बलियो हुने र मुलुकको समग्र विकासले गति लिने विश्वास बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले व्यक्त गर्नुभयो ।