बुटवल समाचारदाता
बुटवल, वैशाख २१ गते । ‘सफा सहर हाम्रो रहर’ भन्ने नाराका साथ बुटवल उपमहानगरपालिकाले बुटवलको दुई वटा वडाबाट एकै साथ फोहोर वर्गीकरण घरदैलो अभियान सुरु गरेको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले फोहोर व्यवस्थापनलाई सघन र दिगो बनाउने उद्देश्यसहित आइतबारदेखि वडा नं. ७ र ८ बाट घरदैलो अभियान सुरु गरेको जानकारी दिनुभयो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको सहयोग तथा फोहोर सरसफाइ सहकारी संस्थाको आयोजनामा सुरु गरिएको अभियानमार्फत हरेक घर घरबाटै फोहोरको वर्गीकरण गरिने भएको हो ।
अभियान अन्तर्गत उपमहानगरपालिकाले नगरवासीलाई कुहिने, नकुहिने र पुनप्र्रयोग गर्न सकिने फोहोर छुट्याउन अनुरोध गरेको छ ।
नगरप्रमुख पाण्डेयले प्लास्टिक गल्न करिब ३० वर्ष, पानीको बोतल गल्न पाँच सय वर्ष तथा सेनेटरी प्याड गल्न छ सय वर्षसम्म लाग्ने भएकाले फोहोरको सही व्यवस्थापन गरी बुटवल सहरलाई सफा बनाउने अभियान सुरु गरिएको बताउनुभयो । बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्थाका अध्यक्ष विष्णु कार्कीले बुटवल–७ मा रहेको फोहोर प्रशोधन केन्द्रमा जैविक फोहोरबाट मल उत्पादन गर्ने तथा प्लास्टिकजन्य फोहोरबाट इँटा उत्पादन गर्ने प्रविधि सञ्चालनमा रहेकोले स्थानीय जनताले फोहोरको वर्गीकरण गरी आम्दानीसमेत गर्न सक्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको फोहोर समयमै र सही तरिकाले व्यवस्थापन गर्न नसक्ने हो भने यसले समस्या निम्त्याउने भएकाले फोहोर व्यवस्थापनमा सवै नगरवासीको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
उहाँले बुटवलका सबै घरले आफ्नै घरबाटै फोहोर छुट्याउने बानी विकास गर्न सक्ने हो भने फोहोर व्यवस्थापनमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका लुम्बिनी तथा गण्डकी प्रदेश प्रमुख सुदिप अर्यालले बुटवललाई सफा, हरित र व्यवस्थित सहर बनाउने अभियानमा आमनगरवासीको सबैभन्दा ठुलो भूमिका हुने बताउँदै सहयोगका लागि आफूले सहकार्य गरेको बताउनुभयो । बुटवल उपमहानगरले नगरलाई स्वच्छ र सफा राख्न बुटवल सरसफाइ अभियान हरेक साता गर्दै आएको छ । यात्रुको चाप बढी हुने स्थान बसपार्क, मुख्य सडक, अस्पताललगायतका क्षेत्रमा र बुटवल उपमहानगरले सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।