शेरबहादुर सार्की
बाजुरा, वैशाख २१ गते । बाजुरामा परम्परागत रूपमा प्रचलित ‘लेउ फेर्या’ बुन्ने सीप विस्तारै लोप हुँदै गएको छ । यहाँका हिमाली क्षेत्रका स्थानीयले पहिले भेडाबाख्रा पाल्ने र त्यसको ऊनबाट चिसो मौसममा प्रयोग हुने लेउ फेर्या बुन्ने गर्थे । त्यसबाट पुरानो पुस्ताले राम्रो आम्दानीसमेत गर्ने गरेका थिए ।
तर नयाँ पुस्ताले यो परम्परागत सीपलाई निरन्तरता नदिँदा र भेडाबाख्रा पालन पनि घट्दै जाँदा लेउ फेर्या बुन्ने चलन लोपोन्मुख अवस्थामा पुगेको हो । बुढीनन्दा नगरपालिका–३ का स्थानीय भद्या चँदाराले पहिले गाउँबस्तीमा धेरैले लेउ फे¥या बुन्ने गरे पनि अहिले त्यो क्रम घट्दै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिमाली भेग भएकाले यहाँ हिउँदमा अत्यधिक चिसो हुन्छ । त्यसैले ओढ्ने र ओछ्याउनेका लागि यहाँका स्थानीयले पहिले धेरै लेउ फेर्या बुन्ने गर्थे ।”
अहिले गाउँबस्तीमा सडक पुगेपछि बजारका सामग्री सहजै घरमै पुग्न थालेका छन् । साथै नयाँ पुस्ताले भेडाबाख्रा पालन छोड्दै जाँदा लेउ फेर्या बुन्ने परम्परा पनि घट्दै गएको उहाँको भनाइ छ ।
लेउ फेर्याको मूल्य अहिले पनि करिब पाँच हजारदेखि सात हजार रुपियाँसम्म पर्ने गर्दछ । यो बलियो र टिकाउ हुने भएकाले अझै पनि प्रयोगमा रहेको छ । भोटे समुदायका घरहरूमा यो परम्परागत सामग्री अझै पाइने गरेको छ ।
हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ र बुढीनन्दा लगायतका केही स्थानमा भने अहिले पनि सीमित रूपमा लेउ फेर्या बुन्ने चलन रहेको छ ।
पहिले यहाँका स्थानीयले लेउ फेर्या उत्पादन गरेर व्यापारसमेत गर्ने गर्थे । भेडाबाख्राको ऊनबाट लेउ फेर्या बनाएर काठमाडौं, नेपालगञ्ज र धनगढीजस्ता सहरमा बिक्री गर्ने चलन थियो, जसबाट राम्रो आम्दानी हुने गरेको थियो ।
तर सडक विस्तारसँगै बजारका सामग्री सहजै उपलब्ध हुन थालेपछि यो परम्परागत सीप क्रमशः हराउँदै गएको छ । हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले स्थानीय परम्परागत सीपलाई पुनः जागृत गर्न पालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “डोका, नाम्ला, हँसिया बनाउने, लेउ फेर्या बुन्ने जस्ता सीपलाई जोगाउन हामी तालिमसमेत दिँदै आएका छौँ ।” स्थानीयको आर्थिक अवस्था सुदृढ बनाउन पुराना पुस्ताले छोडेका सीपलाई पुनर्जीवित गर्ने कामलाई प्राथमिकतामा राखिएको अध्यक्ष मल्लले बताउनुभयो ।