• २१ वैशाख २०८३, सोमबार

भगाँरीमा सती घाँटुको रौनक

blog

रमेश विश्वकर्मा 
गुल्मी, वैशाख २१ गते।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३, भगाँरीमा लोपोन्मुख सांस्कृतिक सम्पदाको रूपमा रहेको ‘सती घाँटु’ नाचको भव्य प्रदर्शन गरिएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान’’ भन्ने मुख्य नारासहित दैविक शक्तिमा आधारित पारम्पारिक लोक संस्कृति सति घाँटुको संरक्षण र प्रवर्धन गर्न विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि वैशाख पूर्णिमाको अवसर पारेर सो नाच प्रदर्शन गरिएको हो।

प्रकृति र संस्कृतिको अनुपम सङ्गम मानिने घाँटु नाच विशेषगरी मगर समुदायको ऐतिहासिक एवं परम्परागत नाच हो। कुनै समय यस जिल्लाका विभिन्न मगर बस्तीहरूमा यो नाच प्रचलनमा रहे पनि पछिल्लो समय भगाँरीमा मात्र यसको मौलिकता जीवन्त रहेको घाँटु नाच संरक्षण समितिका संयोजक यज्ञमुर्ति श्रीसले जानकारी दिनुभयो।

“यो नाच दैवीय शक्तिमा आधारित भएकाले यसलाई ‘सती घाँटु’ भन्ने गरिन्छ।’’ उहाँले भन्नुभयो, “गीतको माध्यमबाट घाँटुनीहरूको आँखा बन्द हुने र उनीहरूमा दैवीय शक्ति चढ्ने प्रक्रियालाई ‘घाँटु लाग्ने’ भनिन्छ।’’ यस नाचका क्रममा ८४ देवी–देवताहरूको आह्वान गर्ने गरिन्छ। घाँटु नाचमा गाइने गीतहरूमा रामायण, कृष्ण चरित्रका साथै तत्कालीन सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको चित्रण हुने गर्दछ।

विशेषगरी बाइसे–चौबिसे राज्यकालीन समयका पर्वते राजा र मगराती राजाबीचको लडाइँको कथालाई गीतका माध्यमबाट प्रस्तुत गरी नाचिने यो नाच ऐतिहासिक रूपले समेत महत्त्वपूर्ण मानिने उहाँले बताउनुभयो। मगर भेषभुषामा सजिएका घाँटुनी नानीहरू, गुरुबा र गुरुआमाको प्रस्तुति नै यस नाचको मुख्य आकर्षणका रूपमा रहेको छ।

श्रीपञ्चमीका दिनदेखि सुरु गरिने यो नाच वैशाख पूर्णिमामा भव्य प्रदर्शन गर्ने र जेठ औँसीको भोलिपल्ट अर्थात् परेवा तिथिका दिन ‘घाँटु सेलाएर’ समापन गर्ने गरिन्छ। घाँटुनीहरूलाई बिदाइ गर्दा गाइने ‘जाउन हरे काँसी’ जस्ता मार्मिक गीतले उपस्थित दर्शकहरूलाई भावविभोर बनाउने संयोजक श्रीसले बताउनुभयो।

पछिल्लो समय बढ्दो सहरीकरण, वैदेशिक रोजगारी र बसाइँसराइका कारण यो मौलिक कला सङ्कटमा पर्न थालेको छ। मौखिक रूपमा पुस्तान्तरण हुँदै आएको यस नाचलाई अहिले लिपिबद्ध गर्ने कार्य समेत सुरु गरिएको छ। यो नाच लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण र प्रवद्र्धनमा सबैको ध्यान जानु आवश्यक रहेको उहाँले बताउनुभयो। सबैले समयमै ध्यान नपुर्‍याए यस्ता मौलिक संस्कृतिहरू लोप हुने खतरा छ।