• २१ वैशाख २०८३, सोमबार

कोहलपुर गोल्डकपः नाइजेरियाद्वारा कर्णाली पराजित

blog

प्रतिस्पर्धामा जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली प्रदेश)का खेलाडी । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, वैशाख २१ गते ।
बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकपको दोस्रो खेलमा जस्ट जोन एफसी (नाइजेरिया)ले रोयल फुटबल क्लब (कर्णाली प्रदेश) लाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।

सोमबार बिहान सम्पन्न खेलमा नाइजेरियाले कर्णालीलाई हराएको हो । खेलतालिका अनुसार यी दुई टिमबिचको खेल आइतबार साँझ हुने तय भए पनि हावाहुरीसहितको वर्षाका कारण खेल बिचमै रोकिएको थियो ।

आइतबार ३७ मिनेटसम्म खेल भएको थियो । त्यसपछि वर्षाका कारण स्थगित खेल सोमबार बिहान पुनः सुरु गरिएको हो ।
आइतबारको खेलमा नाइजेरियाका ९ नम्बर जर्सीका खेलाडी हमजत डेमोलाले २२औँ मिनेटमा गोल गर्नुभएको थियो । सोमबार बिहान बाँकी पहिलो हाफमा दुवै टिमबाट थप गोल हुन सकेनन्, प्रतियोगिता संयोजक कर्ण बस्नेतले जानकारी दिनुभयो ।

दोस्रो हाफमा नाइजेरियाका १० नम्बर जर्सीका खेलाडी अब्दुल अजिज इसोलाले ४७औँ मिनेटमा, २९ नम्बर जर्सीका वालेही अफिजले ५२औँ मिनेटमा र २७ नम्बर जर्सीका तजुदिन एडेवालेले ९०औँ मिनेटमा गोल गर्नुभयो ।

कर्णाली प्रदेशले भने २ गोल फर्काएको थियो । कर्णालीका ७ नम्बर जर्सीका खेलाडी सन्दीप देउवाले ४९औँ मिनेटमा र विक्रम वलीले ७७औँ मिनेटमा गोल गर्नुभयो ।

खेलको ‘म्यान अफ दी म्याच’ नाइजेरियाका हमजत डेमोला घोषित हुनुभयो । उहाँले नगद पाँच हजार रुपियाँ प्राप्त गर्नुभयो ।

प्रतियोगिताको तेस्रो दिन लालीगुराँस एसोसिएसन क्लब (पोखरा) र सातदोबाटो युवा क्लब (ललितपुर) बिच खेल हुने आयोजकले जनाएको छ । तर मौसम प्रतिकुल रहे आजको खेलबारे अन्तिम निर्णय हुन बाँकी रहेको संयोजक बस्नेतले बताउनुभयो ।

कोहलपुर–२ स्थित तेह्र बिघा खेलमैदानमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कोहलपुर रेसिङ सहारा क्लब विजयी भएको थियो । उक्त खेलमा कोहलपुरले पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम)लाई २–१ गोलअन्तरले हराएको थियो ।

प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ सहारा क्लब, पञ्चकोशी युवा क्लब, लालीगुराँस एसोसिएसन क्लब, सातदोबाटो युवा क्लब, जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र नेपाल पुलिस क्लब सहभागी छन् । विजेताले आठ लाख रुपियाँ र उपविजेताले चार लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।