जानु पाण्डे
कपिलवस्तु, वैशाख २१ गते । यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।
यात्रु सङ्ख्या बढाउने उद्देश्यले राखिएका अतिरिक्त सिट, मुडा र कुर्ची हटाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सवारी व्यवस्थापनमा कडाइ गरेको हो । कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सञ्चालन हुने साना तथा मझौला यात्रुवाहक सवारीबाट अतिरिक्त सिट हटाउने अभियान सुरु गरिएको हो ।
उहाँले भन्नुभयो, “क्षमताभन्दा बढी यात्रु राख्न प्रयोग गरिएका सिट, मुडा र कुर्ची हटाउँदै आएका छौँ । हालसम्म एक सयभन्दा बढी सवारी साधनबाट यस्ता सामग्री हटाइएको छ । पहिलो चरणमा सवारी चालकलाई सचेत गराइएको छ भने अटेर गर्नेलाई जरिवाना गरिने छ ।”
सवारी चालकहरूले पनि एक्स्ट्रा सिटका कारण सवारी सञ्चालनमा समस्या आउने स्वीकार गरेका छन् । अनावश्यक सिट राख्दा गाडी असन्तुलित हुने, यात्रु धेरै हुँदा स्टेरिङ चलाउन कठिन हुने तथा आकस्मिक ब्रेक लगाउँदा जोखिम बढ्ने चालक मधुसुधन आले मगरले बताउनुभयो ।
ट्राफिक प्रहरीका अनुसार अत्यधिक यात्रु राख्दा सवारी साधनको भार सन्तुलन बिग्रिने, ब्रेक प्रणालीमा दबाब बढ्ने, मोडमा सवारी ढल्किने र आकस्मिक अवस्थामा नियन्त्रण गर्न कठिन हुने समस्या देखिन्छन् । सवारी साधनको भित्री संरचनामा अनधिकृत परिवर्तन गर्दा यात्रुको सुरक्षामा प्रत्यक्ष असर पर्ने बताइएको छ । यस्ता कारणले साना दुर्घटनादेखि ठुला मानवीय क्षतिसम्मका घटना हुने सम्भावना उच्च रहने भएकाले ट्राफिक प्रहरीले अभियानलाई निरन्तरता दिने जनाएको छ ।