प्रेमराज सिम्खडा
कालीकोट, वैशाख २१ गते । बजारमा ग्यासको अभाव भएपछि महिलाको कार्यबोझ बढेको छ । ग्यास अभाव हुँदा महिला खाना पकाउने दाउराको जोहो गर्न वनजङ्गल जानु पर्ने भएकाले कार्यबोझ बढेको हो ।
अहिले ग्यास अभाव हुँदा सहरदेखि गाउँका महिला दाउराको जोहोका लागि वनजङ्गल धाउन थालेका छन् । बजारमा ग्यास नपाउँदा त्यसको प्रत्यक्ष असर महिलामा पर्ने गरेको छ । पुरुष घर बाहिर र केही भएका पनि रोजागारीमा भएकाले सबै घरको कार्यबोझ महिलाको काँधमा आउने भएकाले ग्यास अभाव हुँदा वनजङ्गलको थप बो्झ महिलाले खेप्नु परेको छ ।
खाडाचक्र–४ की २८ वर्षीया रेशमा विश्वकर्माले फेरि दुःखका दिन सुरु भएको बताउनुभयो । हामीले बिगत ९ वर्षदेखि ग्यास चुलो बालिरहेका थियौँ । ‘ग्यासदेखि खाद्यान्न, तरकारी, तेलको मूल्य बढेर बाँच्नै धौं हुन थाल्यो’ उहाँले भन्नुभयो, “ग्यास चुलो बाल्ने बानी पर्यो, अहिले मूल्य बढेर किन्ने नसकिने भयो । भोकै बस्न नसकिने त्यसैले दाउरा लिन वनजङ्गल जानु परेको छ ।
गत फागुनको चुनाव अघिसम्म २ हजार रुपियाँमा पाइने सिलिन्डरको मूल्य अहिले दुई हजार आठ सय पुगेको छ । चामल र खाने तेलको मूल्य पनि बृद्धि भएको छ । दाउरा खोज्न जङ्गल धाउन छाडेको ९ वर्षपछि फेरि पुरानै अवस्थामा फर्किनु परेको रेशमाले बताउनुभयो ।
शुक्रबार बिहान घरबाट ३ घण्टा टाढा सल्लीबाडी जङ्गलबाट दाउरा खोजेर फर्किरहेका ८ जना महिलाको समूहमा १८ वर्षीया सुमित्रा विश्वकर्मा पनि रहनुभएको थियो ।
नयाँ सरकारले मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिनुपर्ने सुमित्राको भनाइ छ । अहिले ग्यासको मूल्य बढ्यो भनेर दाउरा खोज्न जङ्गल मात्र जानु परेको छ, सुबित्राले भन्न्नुभयो, “यस्तै महँगी भइरहने हो भने गरिबले पैदल हिँड्ने दिन नआउलान भन्न सकिन्न । पछिल्लो समय गाडी भाडा वृद्धि गरिएपछि खर्च पुर्याउन नसकिएको उहाँले गुनासो गर्नुभयो ।
११ कक्षाको परीक्षाको तयारीमा रहेकी सुमित्राले परीक्षाको तयारी छाडेर दाउरा खोज्न धाउनुपरेको गुनासो गर्नुभयो । पाल्त महादेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रविलाल पाण्डेले चैत महिना लागेपछि दाउरा खोज्न जङ्गल जाने उपझोक्ताको सङ्ख्या दोब्बर भएको बताउनुभयो ।
उहाँका अनुसार पहिले धेरैले ग्यास बाल्ने गरेका थिए । ‘ग्यास पाउन पनि कठिन भयो, उहाँले भन्नुभयो, ‘मूल्य बढेपछि दाउरा खोज्न जाने बढे । वन मासिँदै गएकाले दाउरा कमी रहेको उहाँले सुनाउनुभयो ।
सामुदायिक वनले दाउरामा कडाइ गरेकाले ६ घण्टा टाढा पुगेर स्थानीयले दाउरा ल्याउने गरेका छन् । दाउरा पनि नपाइने रास्कोट नगरपालिकामा ग्यासको अभावले सर्वसाधरण मारमा परेको स्थानीयले बताएका छन् ।
कर्णाली राजमार्ग र काेरिडोर सञ्चालनमा आएपछि कालीकोटको खाडाचक्र, तिलागुफा, रास्कोट नगरपालिका, नरहरिनाथ, पचालझरना गाउँपालिकाका ६० प्रतिशत घरधुरीले खाना पकाउन एलपी ग्यास प्रयोग गर्दै आएका छन् । शुभकालिका, महाबै, सान्नी त्रिवेणी, पलाता गाउँपालिकाका ४० प्रतिशत घरधुरीले ग्यास बाल्ने गरेको यहाँस्थित ग्यास बिक्रेता सूर्यबहादुर शाहीले बताउनुभयो ।