• २१ वैशाख २०८३, सोमबार

वडा प्रहरी कार्यालय वालिङका लागि सुविधा सम्पन्न नयाँ भवन बन्दै

blog

माओवादी आक्रमणको २५ वर्ष पछि सोही ठाउँमा बन्दै गरेको वडा प्रहरी कार्यालय वालिङको भवन । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ (स्याङ्जा), वैशाख २१ गते । माओवादीले आक्रमण गरेको २५ वर्ष पछि प्रहरीका लागि वालिङमा नयाँ भवन निर्माण सुरु गरिएको छ ।

तत्कालीन विद्रोही माओवादीले २०५८ साल मङ्सिर ८ गते तत्कालीन इलाका प्रहरी कार्यालयमा आक्रमण गरेको थियो ।आक्रमण पछि क्षतविक्षत् भएको भवनलाई मर्मत गरेर प्रहरीले आफ्नो सेवा सोही भवनबाट प्रदान गर्दै आएको थियो ।

आक्रमणको २५ वर्ष पुरानो भवन भत्काएर सोही ठाउँमा नयाँ भवन निर्माण सुरु गरिएको हो । एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी २०८२ असोज ३० गते सपना सुन्दरी जेभी रूपन्देहीसँग सम्झौता भएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायब उपरीक्षक कमलराज पण्डितले जानकारी दिनुभयो ।

अहिले धमाधम भवन निर्माण भइरहेको छ । आगामी असोज ३० गते भित्र भवन निर्माण पूरा गर्ने योजना रहेको छ । तीन तले पक्की भवन निर्माण पछि कार्यालय प्रमुख कक्ष, थुनुवा कक्षसहित प्रहरी कार्यालय सुविधा सम्पन्न बन्ने वडा प्रहरी कार्यालयका लेखा अधिकृत प्रदीप गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्घीय सरकारको तीन करोड ७० लाखको लागतमा भवन निर्माण हुन लागेको हो । भवन निर्माणका लागि डिपिआर झण्डै पाँच करोडको भए पनि घटेर ठेक्का लागेको हो ।

वडा प्रहरी कार्यालय वालिङ अन्तर्गत वालिङ, भीरकोट र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिका पर्दछ । जसमा १३ प्रहरी कार्यालय तथा युनिट रहेका छन् ।

वडा प्रहरी कार्यालयमा १९४ जना प्रहरीको दरबन्दी रहेको छ । केही वर्ष पहिले बनेको प्रहरी निवास भवनबाट अहिले सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गको अधिकांश भाग यही प्रहरी कार्यालयको कार्यक्षेत्र भित्र पर्दछ त्यसैले प्रहरीको सक्रियता धेरै हुने गरेको छ ।