जनार्जन खत्री
सर्लाही, वैशाख २१ गते ।सर्लाही सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचना सोमबारदेखि भत्काउन सुरु गरिएको छ ।
वडा र नगरपालिका कार्यालयले बारम्बार सूचना जारी गर्दा पनि सडकको क्षेत्राधिकार ‘राइट अफ वे’ भित्र निर्माण गरिएका संरचना नहटाएपछि डोजर लगाएर भत्काउन सुरु गरिएको हो । मलङ्गवा बजारमा सडकको क्षेत्राधिकार १५ मिटर कायम गरिएको छ ।
१५ मिटरभित्र पर्ने गरी हालिएका भर्याङ, रेलिङ र जस्तापाता हटाउन सुरु गरिएको मलङ्गवा नगरपालिका १० का वडाध्यक्ष मुकेशकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार सडकभित्र पर्ने गरी बनाइएका घरसमेत भत्काउने काम जारी रहेको छ ।
सडकको अतिक्रमण हटाउन नगरप्रमुख नागेन्द्रप्रसाद यादव आफै डोजर लिएर फिल्डमा उत्रनुभएको छ । पूर्व सूचना अनुसार नगरपालिका चोकदेखि मुख्य बजार, पुरानो बसपार्क, जिविस चोक, अदालत हुँदै शिवसागर चोकसम्म सडक तथा नाला अतिक्रमण गरेर बनाइएका संरचना हटाउने काम भइरहेको वडाध्यक्ष झाले बताउनुभयो ।
सडक अतिक्रमण हटाउन नगरपालिकाले आफ्नै खर्चमा दुईवटा डोजर प्रयोग गरेको छ । अतिक्रमण हटाउनेक्रममा प्रतिरोध हुन सक्ने आशङ्कामा मलङ्गवा बजारमा सोमबार बिहानैदेखि व्यापक सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसमेत तैनाथ गरिएको छ ।
सदरमुकाम क्षेत्रमै जताततै सडक अतिक्रमण भएको चौतर्फी गुनासोपछि जनप्रतिनिधि आफै सक्रिय भएर अतिक्रमण हटाउन लागि परेका हुन् ।
बजार क्षेत्रमा समाजका लब्धप्रतिष्ठित व्यक्तिले नै अतिक्रमण गरेर व्यक्तिगत संरचना बनाएकाले त्यस्ता अतिक्रमण हटाउन समस्या पर्दै आएको थियो ।
तर अहिले नयाँ सरकार गठनपछि देशभर अतिक्रमित क्षेत्र खाली गराउने काम भइरहँदा सर्लाहीमा पनि सदरमुकाम मलङ्गवाबाट अतिक्रमण हटाउने अभियानको सुरुवात भएको हो ।