सुजल श्रेष्ठ
प्यूठान, वैशाख २१ गते । मल्लरानी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । मल्लरानी गाउँपालिका–४ खलङ्गामा निर्माण हुन लागेको भवनको सोमबार शिलान्यास गरिएको हो।
प्रशासकीय भवन निर्माण गर्न शुभम निर्माण सेवा सुनिल एन्ड विजय कन्स्ट्रक्सन रोल्पाले ठेक्का पाएको छ । भ्याटसहित ६ करोड ९२ लाख ९४ हजार २१४ रुपियाँमा ठेक्का परेको गाउँपालिकाले जनाएको छ।
हाल गाउँपालिका नेपाल रेडक्रस सोसाइटीको भवन भाडामा लिएर सञ्चालन भइरहेको छ । केही शाखा जिल्ला समन्वय समितिको भवनमा सञ्चालनमा छन्।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्काले जग्गा प्राप्तिका कारण भवन बनाउने काम ढिला भए पनि अब निर्माण कार्य सुरु भएकाले समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
भवन बनेपछि गाउँपालिकाको प्रशासनिक काम एकै ठाउँबाट सहजै प्रवाह गर्न सकिने बताउनुभयो। जिल्लाका नौ वटा स्थानीय तहमध्ये आठ वटा पालिकाको नयाँ प्रशासकीय भवन सम्पन्न भइसकेका छन ।