• २१ वैशाख २०८३, सोमबार

धौलागिरिको फेदी दोभानमा सडक पुगेपछि यातायात सहज

blog

धवलागिरि हिमालको फेदीमा रहेको दोभान । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, वैशाख २१ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको फेदीमा रहेको पर्यटकीय स्थल दोभानमा सडक पुगेको छ ।

धौलागिरि चक्रीय पदमार्गमा पर्ने तीन हजार मिटरको उचाईमा रहेको यस क्षेत्रमा सवारी साधन सञ्चालन हुन थालेपछि पर्यटक तथा स्थानीयवासीलाई आवतजावत गर्न सहज भएको छ । यस क्षेत्रमा निर्माणाधिन जलविद्युत् आयोजनाले दोभान सम्म सडक पुर्‍याएको हो । 

यसअघि बगरदेखि दोभान पुग्न पूरै दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेकामा सडक खुलेपछि अहिले बेनीदेखि करिब पाँच घण्टामै सवारी साधनमार्फत यहाँ पुग्न सकिने भएको छ, जसले स्थानीय आर्थिक गतिविधि र आन्तरिक पर्यटनमा समेत सकारात्मक प्रभाव पार्न थालेको स्थानीय पर्यटन व्यवसायी हरिप्रसाद तिलिजाले बताउनुभयो । 

उहाँका अनुसार सडक पुगेपछि म्याग्दी हुँदै मुस्ताङ र धौलागिरि आरोहण गर्न जाने पर्यटकहरूले धौलागिरि चक्रीय पदमार्गमा समेटिएको दोभानसम्म सवारी साधानको प्रयोग गरेर पुग्न थालेपछि चहलपहल बढ्न थालेको छ । 

दोभानमा निर्माणधिन ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगरदेखि दोभानस्थित बाँध निर्माणस्थलसम्म नौ किलोमिटर सडकको ट्रयाक खोलेको हो । 

जलविद्युत् आयोजनाका कारण दोभानसम्म सडक पुग्न सम्भव भएको स्थानीयवासी  तिलिजाले बताउनुभयो । 

उहाँले भन्नुभयो ‘‘यसअघि बगरदेखि दोभान पुग्न भिर, जङ्गल र खोल्साको कठिन बाटो हुँदै पूरै दिन पैदल हिँड्नुपर्ने अवस्था थियो ।  अहिले जिप, मोटरसाइकल, ट्याक्टर र ट्रक सञ्चालनमा आएपछि आवतजावत मात्र होइन, ढुवानी गर्न समेत निकै सहज र छिटो भएको छ ।’’

हाइड्रो भिलेज प्रवर्धक रहेको म्याग्दी खोला जलविद्युत् आयोजनाले गत पुस महिनादेखि बगरबाट डोजर र विस्फोटक पदार्थ प्रयोग गरेर बाँधसम्म पहुँचमार्ग निर्माण थालेको थियो । 

आयोजना प्रमुख उत्तम पौडेलले बगर–तातोपानी खण्डको भिरमा मार्ग खुलाउने काम भइरहेको र म्याग्दी नदीको किनारै किनार ‘डाइभर्सन’ बनाएर यातायात सञ्चालनको व्यवस्था मिलाएको बताउनुभयो ।