• २१ वैशाख २०८३, सोमबार

पोखराको भाटभटेनी पुन: सञ्चालन

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, वैशाख २१ गते । गएको भदौमा भएको जेनजी आन्दोलनमा ध्वस्त भएको पोखरा महानगरपालिका-८, न्युरोडमा रहेको भाटभटेनी सुपर स्टोरको शाखा सोमबारबाट सञ्चालनमा आएको छ । 

भाटभटेनी सुपर स्टोरका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले सोमबार यसको सुरुवात गर्नुभयो । कार्यक्रममा प्रबन्ध निर्देशक गुरुङले जेनजी आन्दोलनका बेला ध्वस्त भएका १२ शाखामध्ये पाँच शाखा सञ्चालनमा आएको जानकारी दिनुभयो । 

“पुनः सञ्चालनमा आएको यो हाम्रो पाँचौँ स्टोर हो, सात वटा बाँकी छ,” उहाँले भन्नुभयो, “बाँकी शाखा यही महिनाभित्र सञ्चालन गर्नेवाला छौँ ।” उहाँले उत्साह, प्ररणा, हौसला दिने सबैप्रति आभार व्यक्त गर्दै पोखरेलीको पहिलेकै जस्तो साथ पाउने अपेक्षा गर्नुभयो ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले न्युरोडको भाटभटेनी फेरि सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्नुभएको छ । “तपाईंले अप्ठ्यारो परिस्थितिमा पनि हरेस नखाई, साहस नगुमाई अघि बढ्नुपर्छ भन्ने प्रेरणादायी सन्देश दिनुभएको छ,” प्रमुख आचार्यले भन्नुभयो, “हरेक प्रश्नको जवाफ र हरेक समस्याको समाधान हुन्छ भन्ने विश्वास तपाईंको कार्यबाट प्रष्ट भएको छ ।”

खोटाङमा जन्मिनुभएका गुरुङले बैङ्किङ क्षेत्र हुँदै २०४३ सालमा काठमाडौँमा किराना पसल सुरु गर्नुभएको थियो । देशभर भाटभटेनीका २७ स्टोर सञ्चालनमा रहेकोमा आन्दोलनताका १२ स्टोर पूर्णरूपमा क्षति भएका थिए भने नौ वटामा लुटपाट र तोडफोड भएको थियो । सात वटा स्टोर भने सुरक्षित थिए । आन्दोलनका बेला १६ अर्बभन्दा बढी क्षति भएको बताइएको छ ।