• २१ वैशाख २०८३, सोमबार

उपराष्ट्रपति यादवसँग युरोपेली सङ्घका राजदूतको शिष्टाचार भेट

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादव (दायाँ)सँग युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जो शिष्टाचार भेटवार्ता गर्दै । तस्बिर : उपराष्ट्रपतिको कार्यालय

काठमाडौँ, वैशाख २१ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरूबिच शुभकामना आदानप्रदानका साथै नेपाल र युरोपेली सङ्घबिचको द्विपक्षीय सम्बन्धका विविध आयाममा विचार–विमर्श भएको थियो । 

सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घबिच सन् १९७४ देखि कायम रहेको सौहार्दपूर्ण एवं मैत्रीपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै नेपालले सङ्घसँगको साझेदारीलाई उच्च महत्त्व दिँदै आएको बताउनुभयो । 

उहाँले स्वास्थ्य, शिक्षा, ऊर्जा तथा ग्रामीण विकासका क्षेत्रमा सङ्घले पुर्‍याएको सहयोग नेपालका लागि अत्यन्तै उपयोगी भएको उल्लेख गर्दै आगामी दिनमा उत्पादनशील क्षेत्रहरूमा सहयोगको दायरा अझ बिस्तार हुने विश्वास व्यक्त गर्नुभयो । 

विशेषगरी कर्णाली प्रदेशमा सञ्चालित आयोजनाले दुर्गम क्षेत्रका नागरिकलाई लाभान्वित गरेकोमा खुसी व्यक्त गर्दै उपराष्ट्रपति यादवले लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयता जस्ता साझा मूल्यमा दुवै पक्षको अटुट विश्वास रहेकोमा जोड दिनुभयो । 

उहाँले महामारी र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौती सामना गर्न बहुपक्षीय सहकार्य अपरिहार्य रहेको बताउँदै नेपाल थप सहकार्यका लागि तत्पर रहेको उल्लेख गर्नुभयो ।

भेटका क्रममा उपराष्ट्रपति यादवले सरकारले सुशासन, पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै १०० बुँदे कार्ययोजनामार्फत तीव्र आर्थिक वृद्धिमा जोड दिएको जानकारी दिनुभयो । 

रोजगारी सिर्जना, पूर्वाधार सुधार तथा प्रतिव्यक्ति आय वृद्धि गर्ने लक्ष्यसहित पर्यटन, जलविद्युत् र सूचना प्रविधिलाई आर्थिक वृद्धिको सम्भावित क्षेत्रका रूपमा पहिचान गरिएको बताउँदै उहाँले यस यात्रामा युरोपेली सङ्घ भरपर्दो साझेदार बन्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल र युरोपबिच सीधा हवाई सम्पर्क स्थापना गरी युरोपेली पर्यटकलाई स्वागत गर्ने नेपालको चाहना रहेको उल्लेख गर्दै उहाँले नेपाली वायुसेवामाथि युरोपमा लगाइएको प्रतिबन्ध हटाउन रचनात्मक सहयोगका लागि आग्रह गर्नुभयो । 

उहाँले आगामी ‘युरोप–डे’ को अवसरमा युरोपेली सङ्घका सदस्य राष्ट्रका जनताको सुख, शान्ति र समृद्धिको कामना समेत गर्नुभयो ।

राजदूत लोरेन्जोले नेपाल–युरोपेली सङ्घ सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले भारतको नयाँ दिल्लीस्थित सङ्घ अन्तर्गतका २२ मुलुकका राजदूतहरूले आगामी मे २५–२६ सम्म नेपालको भ्रमण गर्ने जानकारी गराउनुभयो । 

साथै, उहाँले निकट भविष्यमै ‘इयू–नेपाल बिजनेस फोरम’ आयोजना गर्ने तयारी भइरहेको समेत बताउनुभयो ।