नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख २१ गते । बागलुङ नगरपालिकाको आयोजना र एकीकृत सेवा कार्यालयको सहयोगमा शिक्षकका लागि तीन दिने आधारभूत मानसिक स्वास्थ्य तथा मनोविमर्शसम्बन्धी तालिम आइतबारदेखि सुरु भएको छ ।
तालिममा जिल्लाका ४१ विद्यालयका शिक्षकको सहभागिता रहेको छ । तालिमको सहजीकरण वरिष्ठ मनोविद् किशोर थापाले गर्न्नुभएको छ ।
कार्यक्रम उद्घाटन गर्दै नगरपालिकाका उपप्रमुख राजु खड्काले घरायसी तथा सामाजिक वातावरण, शिक्षकको व्यवहार र शिक्षण–सिकाइ गतिविधिका कारण बालबालिका तथा किशोरहरूमा विभिन्न मनोवैज्ञानिक समस्या देखिने गरेको उल्लेख गर्नुभयो । उहाँले सामान्यदेखि जटिल अवस्थासम्मका समस्या समाधानका लागि विद्यालयस्तरमै मनोविमर्श सेवा आवश्यक रहेको बताउनुभयो ।
उपप्रमुख खड्काको अनुसार पढाइमा ध्यान नजाने, विद्यालयमा अनुपस्थित हुने, बिचमै पढाइ छाड्ने, अनुशासनहीन व्यवहार, डर, चिन्ता, निराशा, तनाव, दुव्र्यसन तथा बालविवाहजस्ता समस्या बढ्दै गएकाले समाधानका लागि मनोपरामर्श प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिम पश्चात नगरपालिकाभित्रका माध्यमिक विद्यालयमा विद्यार्थी मनोपरामर्श कक्षा सञ्चालन गरिने बताइएको छ । तालिमको संयोजन ‘खुसी मन बागलुङ’ ले गरेको हो ।