शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
केशवराज भट्ट
बैतडी, वैशाख २१ गते । बैतडीको शिवथान गाउँपालिका–६, सुल्लेखानमा घरको छतबाट खसेर एक मजदुरको ज्यान गएको छ । बर्दिया जिल्ला बाँसगढी नगरपालिका–४ स्थायी घर भएका ६५ वर्षीय जगतराम थारूको मृत्यु भएको हो ।
थारू पाटन–पञ्चेश्वर सडक खण्डमा कार्यरत मजदुर हुनुहुन्थ्यो । उहाँ सुल्लेखानस्थित उद्धवसिंह धनाडीको घरमा भाडामा बस्दै आउनुभएको थियो । उहाँसँगै उहाँका भतिज गुरीलाल थारू पनि सोही घरमा बस्नुभएको थियो ।
सोमबार बिहान करिब ३–४ बजेतिर बाथरुम जाने क्रममा छतबाट लड्दा उहाँको ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको टोलीले आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक बल्देव बडुले जानकारी दिनुभयो ।