• २१ वैशाख २०८३, सोमबार

सल्यानमा हावाहुरीले विभिन्न संरचनामा क्षति

blog

सल्यानमा हावाहुरीले पुर्याएको क्षती । तस्बिर : शंकर केसी

शंकर केसी

सल्यान, वैशाख २१ गते । सल्यानमा आइतबार साँझ आएको हावाहुरीले कम्तीमा करिब एक दर्जन संरचनामा क्षति पुर्‍याएको छ ।

झरिसहित चलेको हावाहुरीका कारण घर, स्वास्थ्य चौकी, विद्यालय र अस्पतालका भवनका जस्तापाताका छाना उड्दा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हावाहुरीबाट छत्रेश्वरी, कालिमाटी, शारदा र बागचौर क्षेत्र बढी प्रभावित भएका छन् ।छत्रेश्वरी गाउँपालिका–४ जयचौरस्थित कोर्बाङ झिम्पे स्वास्थ्य चौकीको एक कोठे प्रशासनिक भवनको जस्ताको छाना पूर्णरूपमा उड्दा सेवा प्रवाहमै असर पर्ने अवस्था सिर्जना भएको छ ।

कालिमाटी गाउँपालिका–५ अमारेदमरमा स्थानीय गणेश डाँगीको जस्ताले छाएको कच्ची घरको छाना उड्नुका साथै घरको भित्तामा पनि सामान्य क्षति पुगेको छ ।

हावाहुरीकै क्रममा शारदा नगरपालिका–१३ साझखर्कमा तारी रोकाको घर नजिकै रहेको ठूलो रूख ढल्दा उनको जस्तापाताले छाएको दुईतले कच्ची घर तथा टहरामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ ।

शारदा नगरपालिका भित्रका अन्य स्थानमा पनि हावाहुरीले असर पारेको छ । वडा नम्बर १ सुकेखोलामा गीता केसीको एकतले तीन कोठे कच्ची घरको छाना उडेको छ भने वडा नम्बर १४ मा विष्णु कुमारी बुढाथोकीको दुईतले चार कोठे घरको जस्तापाता उडेर क्षति पुगेको छ ।

त्यस्तै वडा नम्बर २ स्थित जिल्ला अस्पताल सल्यानको इमर्जेन्सी वार्ड नजिकै रहेको डाक्टर बस्ने क्वाटरको एक कोठाको छाना उड्दा अस्पतालको आवासीय संरचनामा समेत असर परेको छ ।

शारदा-१३ सल्लेरीमा पनि छविलाल रावतको घरको १८ वटा जस्तापाता उडाई क्षति भएको छ । बागचौर नगरपालिका–२ खरीबोटमा ५५ वर्षीय नन्दलाल वलीको घरबाट १२ फिटका १२ वटा जस्तापाता वेगसँग चलेको हुरीले उडाएको छ । 

सोही वडाको लस्तममा ४३ वर्षीय निमराज डाँगीको घरबाट १२ फिटका ४ वटा र ६ फिटका १२ वटा जस्तापाता उडेर क्षति पुगेको छ ।

पश्चिम सल्यानका विभिन्न स्थानमा पनि हावाहुरीका कारण क्षती पुगेको बताइएको छ । बनगाड कुपिण्डे ५ चिउरा स्थित त्रिभुवन जनता मावि भवनको १८ वटा जस्तापाता र सोही विद्यालयको बाली विज्ञान समुहको प्रयोगशालाको टनेल र त्रिपाल उडाई क्षति भएको प्रहरीले जनाएको छ । यस्तै बनगाड कुपिण्डे ५ चिउरा बस्ने राजकुमार पुन र नन्दलाल रानाको जस्तापाताले छाएको घरको छाना उडाई क्षति भएको छ ।

हावाहुरीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षतिको विवरण सङ्कलन जारी रहेको पनि प्रहरीले जनाएको छ ।