• २१ वैशाख २०८३, सोमबार

घुस लिएको आरोपमा अदालतका कर्मचारीविरुद्ध मुद्दा दायर

blog

काठमाडौँ, वैशाख २१ गते ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालत, गौरमा कार्यरत एक कर्मचारीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ।

आयोगका  प्रवक्ता सुरेश न्यौपानेद्वारा जारि विज्ञप्ति अनुसार अनुसार रौतहट जिल्ला अदालत, गौरको तहसिल शाखामा कार्यरत डिठ्ठा लव कुमार सिंहले जग्गा फुकुवा गरिदिने प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको पाइएको हो।

सेवाग्राहीबाट प्राप्त उजुरीका आधारमा आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीसँग ५० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा उहाँले विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै बार्गेनिङ गरी घुस मागेर लिएको पुष्टि भएको आयोगले जनाएको छ।

आयोगले सिंहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा बिगो ५० हजार कायम गरी कैद तथा जरिवानाको मागदाबी सहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।

यस सम्बन्धमा थप कारबाही अदालतबाट हुने आयोगले जनाएको छ।