रमेश विश्वकर्मा
गुल्मी, वैशाख २१ गते। गुल्मीको मुसीकोट नगरपालिकामा ६२५ औँ आधारभूत स्काउट (स्काउट मास्टर) तालिम सम्पन्न भएको छ।
भुवाचिदीस्थित त्रिभुवन माध्यमिक विद्यालयमा वैशाख १४ गतेदेखि सञ्चालित तालिममा यस नगरपालिका भित्रका माध्यमिक तथा निम्नमाध्यमिक तहका सामुदायिक विद्यालयका २२ जना शिक्षकहरूको सहभागिता थियो।
आवासीय रूपमा सञ्चालन भएको तालिममा सहभागीलाई झण्डोत्तोलन, मार्चपास, कवाज, सामूहिक नेतृत्व, अनुशासन र मानसिक तन्दुरुस्तीका साथै समय व्यवस्थापनका कौशलहरू लगायतका विभिन्न कुराहरू सिकाइएको थियो।
तालिमको अन्तिम दिन (शनिबार) यहाँका प्रधानाध्यापकहरूलाई समेत स्काउट सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो। नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक कृष्ण चालिसे रमेश गैरे, प्रवेश खत्री, पवन सिंह धामी र कृष्ण रानालगायतले काउन्सिलरका रूपमा प्रशिक्षण प्रदान गर्नुभयो।
तालिमको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल स्काउट लुम्बिनी प्रदेशका आयुक्त बलबहादुर खप्तडीले मुसीकोट नगरपालिकाले शिक्षा र अतिरिक्त क्रियाकलापमा गरेको लगानी सराहनीय रहेको उल्लेख गर्नुभयो।
स्काउट शिक्षाले विद्यालय तहका बालबालिकालाई असल नागरिक बनाएर सक्षम व्यक्ति जन्माउने भएकाले स्काउट तालिम आवश्यक रहेको बताउनुभयो।
मुसीकोट नगरपालिकाका प्रमुख जीवलाल खरेल जीवनले नगरपालिकाले पहिलो पटक स्काउट तालिमको सुरुवात गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, “विगतका वर्षदेखि नै स्काउट कार्यक्रम गर्ने हाम्रो योजना अहिले सफल भएको छ। यो वर्ष पुरुष शिक्षकहरूलाई समेटिएको छ भने आगामी वर्ष महिला शिक्षकहरूका लागि पनि तालिम सञ्चालन गर्न बजेटको व्यवस्था गरिने छ। ”
प्रमुख खरेलले शिक्षकहरूले तालिममा आर्जन गरेको ज्ञान र कौशललाई आआफ्नो विद्यालयमा विद्यार्थीहरू माझ प्रभावकारी रूपमा लागु गर्न जरुरी रहेको बताउनुभयो।
त्यसैगरी शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले शिक्षालाई केवल पाठ्यपुस्तक र विद्यालयको चार पर्खालभित्र मात्र सीमित राख्न नहुने धारणा राख्नुभयो।
उहाँका अनुसार विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र व्यावहारिक अनुभवमार्फत अनुशासित नागरिक बनाउन स्काउटिङ शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने छ।
कार्यक्रममा प्रमुख खरेल र शिक्षा शाखा प्रमुख नेपालीलाई स्काउट दीक्षान्त गराइएको थियो।