• २१ वैशाख २०८३, सोमबार

भ्रष्टाचारमा शून्य सहनशीलता : महानिरीक्षक पौडेल

blog

नवनियुक्त सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा महानिरीक्षकको दर्ज्यानी चिह्न ग्रहण पछि मन्तव्य व्यक्त गर्नुहुँदै। तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, वैशाख २१ गते । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बललाई ‘स्मार्ट, इन्टेलिजेन्स–ड्रिभन र मिसन–रेडी फोर्स’ का रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन कार्यक्रममा उहाँले सङ्गठित अपराध, अन्तरदेशीय अपराध, मानव बेचबिखन तथा साइबर अपराध नियन्त्रणका लागि सूचना विश्लेषण र प्रविधिमा आधारित निगरानी प्रणाली सुदृढ बनाइने बताउनुभयो ।

सीमा सुरक्षालाई सङ्गठनको मेरुदण्डका रूपमा व्याख्या गर्दै महानिरीक्षक पौडेलले खुला सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणका लागि ‘बोर्डर इन्टेलिजेन्स’ को विकास गरिने योजना अघि सार्नुभयो । उहाँले सीमा क्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) विस्तार, रणनीतिक तैनाथी तथा छिमेकी मुलुकका सुरक्षा निकायसँगको व्यावसायिक सहकार्यलाई थप प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।

विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउन कुरिनटार र मनाङस्थित तालिम शिक्षालयलाई सुदृढीकरण गर्ने तथा नयाँ ‘फायर फाइटिङ ट्रेनिङ स्कुल’ स्थापना गर्न पहल गरिने उहाँले बताउनुभयो ।

त्यसैगरी, सशस्त्र प्रहरीको स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई मेडिकल कलेज तथा शिक्षण अस्पतालका रूपमा विकास गर्न पहल गर्ने योजना रहेको उहाँको भनाइ छ ।

सङ्गठनभित्र सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने महानिरीक्षक पौडेलले स्पष्ट पार्नुभयो । सशस्त्र प्रहरी कर्मचारीको मनोबल उच्च राख्न वृत्तिविकासको स्पष्ट खाका तथा कल्याणकारी कार्यक्रमलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो ।

साथै, सङ्गठनभित्रका आन्तरिक गुनासो आन्तरिक रूपमै समाधान गर्ने संयन्त्रलाई थप सुदृढ बनाइने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “नेपाल सरकारबाट प्राप्त जिम्मेवारीको प्रभावकारी कार्यान्वयन तथा जनभावना अनुसार जनताको जिउधनको सुरक्षा सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो । संविधान, कानुन, राष्ट्रिय हित र जनअपेक्षालाई केन्द्रमा राखेर इमानदारी, निष्ठा, निष्पक्षता र दृढ संकल्पका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

उहाँले विगतमा सुरु गरिएका सुधारमुखी कार्यक्रमलाई निरन्तरता दिँदै समयसापेक्ष परिमार्जन र थप सुदृढीकरण गरिने बताउनुभयो ।

नेपाल सरकारले जारी गरेको १०० दिने शासकीय सुधार कार्ययोजना अनुसार योजनाबद्ध रूपमा अघि बढिने तथा कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणाली, निष्पक्ष सरुवा–बढुवा र आर्थिक अनुशासनलाई कडाइका साथ लागु गरिने उहाँले उल्लेख गर्नुभयो ।

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बललाई जनउत्तरदायी र आधुनिक सुरक्षा संस्थाका रूपमा स्थापित गर्न आफू दृढ सङ्कल्पित रहेको बताउनुभयो ।