• २१ वैशाख २०८३, सोमबार

तामाङ समुदायमा घाटुनाच संरक्षण

blog

मकवानपुरको कैलाश गाउँपालिकामा आयोजित घाटुनाच र घाँसे गीत प्रतियोगिता । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, वैशाख २१ गते ।
मकवानपुरको कैलाश गाउँपालिका–२, बैकुण्ठमा ऐतिहासिक घाटुनाच मेलासँगै घाँसे गीत प्रतियोगिता सम्पन्न भएको छ । घाटुनाच संरक्षण गर्दै आएको कैलाश गाउँपालिका–२ को कार्यालयले पहिलो पटक लोपोन्मुख अवस्थामा पुगेको घाँसे गीत र तामाङ फापरे ह्वाई गीत प्रतियोगिता आयोजना गरी सांस्कृतिक संरक्षणको सुरुवात गरेको हो ।

मुख्यतः गुरुङ समुदायमा प्रचलित घाटुनाच मकवानपुरको बैकुण्ठ क्षेत्रमा भने परम्परादेखि तामाङ समुदायमा पनि चल्दै आएको छ ।

नेपालमा मकवानपुरको बैकुण्ठमा तामाङ समुदायबिच प्रचलित घाटुनाच लोपोन्मुख अवस्थामा पुगेपछि आफू वडाध्यक्ष बनेसँगै यसको संरक्षणमा लागिएको वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिनुभयो ।

घाटुनाच पारम्परिक नृत्यसँग सम्बन्धित हुन्छ, जसमा कुमारी युवतीहरूले नृत्य गर्ने गर्छन् । नाच सुरु हुनुअघि पूजाआजा गरेर अनुमति लिने र त्यसपछि निश्चित समयसम्म निरन्तर नृत्य गर्ने परम्परा रहेको छ ।

उहाँले दुई दिनसम्म सञ्चालन भएको घाटुनाचसँगै घाँसे गीत र तामाङ फापरे ह्वाई प्रतियोगिता तामाङ समुदायको रीतिरिवाज, परम्परा तथा कला–संस्कृतिको जगेर्नाका लागि आयोजना गरिएको बताउनुभयो ।

घाँसे गीत प्रतियोगितामा १८ समूहको सहभागिता रहेको थियो । जसमा पशुपति गिरी र चिनु चौहानको समूह प्रथम, मीना रिजाल र मैयाँ खत्री द्वितीय, विदुर गिरी र शङ्कर गिरी तृतीय तथा कलावती घिमिरे र बेलिमाया दियालीको समूहले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार गाउँपालिका अध्यक्ष लोक मुक्तान, उपाध्यक्ष बालकुमार मल्ललगायतले वितरण गर्नुभएको थियो ।
त्यसैगरी फापरे ह्वाई गीत प्रतियोगितामा राममाया स्याङ्बोलाई २५ हजार रुपियाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।

मेला व्यवस्थापन समितिका संयोजक रासुदेव स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तानले घाटुनाचलगायतका कला, संस्कृति र परम्पराको संरक्षणले पालिकाको पहिचान स्थापित गर्न तथा पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो ।