• २१ वैशाख २०८३, सोमबार

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न

blog

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ नवनियुक्त सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, वैशाख २१ गते । नवनियुक्त सशस्त्र प्रहरी बल  नेपाल (एपिएफ)का महानिरीक्षक (आइजिपी)लाई सोमबार आयोजित विशेष समारोहबिच दर्ज्यानी चिह्न सुशोभन गरिएको छ।

यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले ज्येष्ठता, कार्यकुशलता र कार्यक्षमताका आधारमा नारायणदत्त पौडेललाई अर्ध सैन्य सङ्गठन सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियोे ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले नवनियुक्त आइजिपीलाई दर्ज्यानी चिह्न प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

सो अवसरमा गृहसचिव श्रेष्ठले नवनियुक्त सशस्त्र प्रहरी बलका महानिरीक्षक पौडेलले सङ्गठनको सुदृढीकरण, पारदर्शिता र वलियो राष्ट्रिय सुरक्षामा थप योगदान पुग्ने बताउनुभयो । उहाँ सङ्गठनका समस्या आन्तरिक रूपमा समाधान गरी तोकिएका जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

दर्जयानी चिन्ह शुशोभनपछि मन्तव्य राख्नुहुँदै नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संविधान,कानुन अनुसार जन अपेक्षालाई पूरा गर्ने गरी इमानदारी र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकारी, गृह मन्त्रालयका कर्मचारी तथा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।

नवनियुक्त आइजिपीले सङ्गठनको व्यावसायिकता, अनुशासन र नागरिकमैत्री सुरक्षा सेवामा थप सुधार गर्ने प्रतिबद्धता व्यक्तगर्नु भएको छ । उहाँले सीमा सुरक्षा, विपद् व्यवस्थापन, अपराध नियन्त्रण तथा शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ।

सशस्त्र प्रहरी बलमा लामो अनुभव सङ्गाल्नु भएका पौडेलले विभिन्न जिम्मेवारी सम्हाल्दै सङ्गठनभित्र नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आउनुभएको छ।

सशस्त्र प्रहरी सेवामा प्रवेश गरेपछि पौडेललले १८ असार २०५८ मा कायम मुकायम सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)को जिम्मेवारी पाउनुभएको थियो ।

त्यसैगरी विसं २०५८ चैत  १८ मा  स्थायी रूपमा डिएसपीमा बढुवा हुनु भएको थियो । त्यसपछि २९ चैत २०६३ मा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र विसं २०७० जेठ २ गते  उहाँ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा हुनुभएको थियो ।

विसं २०७५ कात्तिक १३ गते सशस्त्र प्रहरी महानिरीक्षक (डिआइजी)मा बढुवा हुनुभएको पौडेल विसं २०७९ जेठ  ६ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा हुँदै पौडेल सङ्गठनको उच्च नेतृत्वमा पुग्नुभएको हो  । सरकारले हालै मन्त्रिपरिषद्को निर्णयमार्फत उहाँलाई सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त गरेको हो।